माआ‌ेवादी अध्यक्ष प्रचण्डद्वारा तामाङ समुदायको साेनाम ल्हाेछारमा शुभकामना

-


     हिडन खबर    
     माघ १७ गते २०८१ मा प्रकाशित


काठमाडौं माघ १७
नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तामाङ समुदायको साेनाम ल्हाेछारकाे उपलक्ष्यमा शुभकामना सन्देश ब्यक्त गर्नुभएको छ ।अध्यक्ष दाहालले शुभकामना सन्देश प्रकाशित गरि ल्होछार पर्वले पारम्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउँदै भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति, सामाजिक न्याय, दिगो विकास र आर्थिक समृद्धि हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वाससहित फेरि एकपटक समस्त नेपालीहरूमा हार्दिक शुभकामना ब्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देश

नयाँ वर्षका रूपमा तामाङ समुदायको सोनाम ल्होछार लगायत नेपालका हिमाली एवं पहाडी क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाति समुदायले परापूर्वकालदेखि मनाउँदै आएको सोनाम ल्होछार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

श्रम संस्कृतिमा आधारित प्रकृतिपूजकहरूको पर्वका रूपमा परिचित ल्होछारमा विभिन्न मिष्ठान्न भोजनका साथै आफ्नो समुदायको मौलिक संस्कृति र परम्पराअनुसारको सांस्कृतिक कार्यक्रमसहित हर्ष उल्लासका साथ यो पर्व मनाउने गरिन्छ । आदिवासी जनजातिका विभिन्न समुदायले मनाउने ल्होछार पर्वमा मान्यजनबाट आशिर्वाद ग्रहण गर्नुका साथै परिवार र आफन्तको सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने परम्परा रहिआएको छ ।

यी पर्वहरूले सामाजिक एकता, धार्मिक सहिष्णुता, एक जाति र समुदायले अर्को जाति र समुदायको पहिचान र विशिष्टताको सम्मान, राष्ट्रिय एकतासहितको समुन्नतिका लागि प्रेरकको रूपमा समेत रहँदै आएका छन् । तसर्थ, यस्ता पर्वहरू कुनै खास जाति वा समुदायविशेषका मात्र नभएर सिङ्गो राष्ट्रका साझा पर्व बन्न पुगेका छन् ।

नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई राष्ट्रियताको मेरूदण्डका रूपमा आत्मसात गरेको छ । विभिन्न जाति एवं समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, लिपि, भेषभुषा र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको छ । लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता र पहिचानसमेत हो ।

अन्त्यमा, ल्होछार पर्वले पारम्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउँदै भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति, सामाजिक न्याय, दिगो विकास र आर्थिक समृद्धि हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वाससहित फेरि एकपटक समस्त नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु भनेर सन्देशमा अध्यक्ष दाहालले भन्नुभएको छ।