
काठमाडौ । प्रेस सेन्टर नेपाल, केन्द्रीय समितिको माघ १५ गते काठमाडौंमा सम्पन्न पाँचौ पूर्ण बैठकले सेन्टरको केन्द्रीय अधिवेशन चैत १६ र १७ गते राजधानी काठमाडौं गर्ने निर्णय गरेको छ ।सेन्टरको बैठकले बाट १५ बुँदे घोषणा पत्र सार्वजनिक गरेको छ ।
बैठकले संसदमा दर्ता भएका विधेयकहरु प्रेस स्वतन्त्रतामैत्री निर्माण गर्न र संविधानले निदृष्ट गरेका हक अधिकारको संरक्षण र प्रबर्धन गर्न सरकार र संसदको ध्यानाकर्षण गराउँदै सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धी विधेयकमा नागरिकको अभिव्यक्ति स्वतन्त्रता हनन् हुने व्यवस्था तत्काल फिर्ता लिन माग गरेकाे छ ।
प्रेस सेन्टर नेपालले जारी गरेको १५ बुँदे काठमाडौ घाेषणा पत्र
१) यो बैठक प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवसको अवसरमा संस्थापक, सल्लाहकार, सम्पूर्ण सदस्य, शुभेच्छुक तथा शुभचिन्तक र संगठन परिवारमा शुभकामना व्यक्त गर्दछ । बैठकले जनयुद्धका महान सहिद कृष्णसेन इच्छुकसहित सम्पूर्ण शहिद पत्रकार एवम् विमान दुर्घटनामा जीवन गुमाउनु भएका संगठनका उपाध्यक्ष त्रिभुवन पौडेललगायत जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन र संघर्षहरूमा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै, राज्यद्वारा बेपत्ता पारिएका दीपेन्द्र शर्मा (दण्डपाणी न्यौपाने), मिलन नेपाली, चित्रनारायण श्रेष्ठ, राजेन्द्र ढकाललगायत सम्पूर्ण सञ्चारकर्मीहरुमा उच्च सम्मान व्यक्त गर्दै उहाँहरुको यथार्थ अवस्था सार्वजनिक गर्न माग गर्दछ ।
२) यो बैठक पत्रकारको हकहितको रक्षा, संगठन विस्तार र जनपक्षीय पत्रकारिताका माध्यमबाट सुशासन र समृद्धिका पक्षमा उभिने प्रण गर्दछ ।
३) यो बैठक प्रेस सेन्टर नेपालको पाँचौ राष्ट्रिय महाधिवेशन आगामी चैत १६ र १७ गते संघीय राजधानी काठमाडौं उपत्यकामा सम्पन्न गर्ने घोषणा गर्दछ । साथै, बैठकले अधिवेशन गर्न बाँकी जिल्ला तथा प्रदेश अधिवेशनलाई यथाशाक्य चाँडो सम्पन्न गर्न निर्देश गर्दछ ।
४) सरकारले जनताको सार्वभौम सर्वोच्च संस्था संसदलाई छलेर अध्यादेश जारी गरेकोप्रति यो बैठक खेद प्रकट गर्दछ । बैठकले संसदमा दर्ता भएका विधेयकहरु प्रेस स्वतन्त्रतामैत्री निर्माण गर्न र संविधानले निदृष्ट गरेका हक अधिकारको संरक्षण र प्रबर्धन गर्न सरकार र संसदको ध्यानाकर्षण गराउँदै सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धी विधेयकमा नागरिकको अभिव्यक्ति स्वतन्त्रता हनन् हुने व्यवस्था तत्काल फिर्ता लिन माग गर्दछ । साथै, प्रेस स्वतन्त्रता, वाक तथा अभिव्यक्ति स्वतन्त्रतासहित पत्रकारहरुको सुरक्षाको ग्यारेण्टी गर्न सरकारसँग माग गर्दछ । साथै तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले शुरू गरेका सुशाशनका काम कारवाहीप्रति पुर्ण समर्थन गर्द तिनलाई निरन्तरता दिन माग गर्दछ ।
५) प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यमलाई पूर्वाग्रही ढंगले कालोसूचीमा राख्ने, वर्गीकरणमा विभेदपूर्ण व्यवहार गर्ने गुनासो व्यापक रुपमा आएकाले यस्ता निर्णय तत्काल सच्याउन माग गर्दै सरोकारवाला निकायलाई यस विषयमा गम्भीर हुन ध्यानाकर्षण गराउँदछ ।
६) श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक विगत ६ वर्षदेखि पुनरावलोकन नगरेकाले पत्रकारको तलब तत्काल वृद्धि गर्न यो बैठक माग गर्दछ ।
७) विभिन्न सञ्चारकर्मी तथा श्रमजीवि पत्रकारहरुद्धारा सञ्चालित साना लगानीका स्वरोजगारमूलक सञ्चारमाध्यमको रक्षा र विकासका लागि ध्यान दिन माग गर्दै सरकारले दिँदै आएको लोककल्याणकारी विज्ञापन बापतको रकम दोब्बर वृद्धि गर्न माग गर्दछ ।
८) विज्ञापन बोर्डबाट प्रदान गरिदैं आएको लोककल्याणकारी विज्ञापन बापतको रकम नियमित हुने सुनिश्चितता गर्नुका साथै सञ्चारमाध्यमलाई सहज ढंगले उपलब्ध गराउने व्यवस्था गर्न माग गर्दछौं । सञ्चारमाध्यफमले पाउने तीन प्रतिशत रकम कट्टा गर्ने तथा अनावश्यक झन्झट दिने काम सच्याउन पनि माग गर्दछौं ।
९) यो बैठक श्रमजीवि पत्रकारहरुले सञ्चालन गर्दै आएका स्वरोजगारमूलक मिडिया प्रवर्धनका लागि तत्काल समानुपातिक विज्ञापन वितरण सुरुवात गर्न तीनै तहका सरकारको ध्यानाकर्षण गराउँदछ ।
१०) अनलाइन सञ्चारमाध्यमलाई लोक कल्याणकारी विज्ञापन दिने नीति तत्काल कार्यान्वयन गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गर्दछ ।
११) सञ्चारकर्मीले खरिद गर्ने सञ्चार सामग्रीहरुमा अनुदान र सञ्चारकर्मीसहित सञ्चारगृहहरुका लागि सवारी साधन खरिद प्रक्रियामा कर तथा भन्सार छुटका लागि नीतिगत पहल गर्न यो बैठक माग गर्दछ । साथै, सञ्चारगृहका लागि विद्युत, इन्टरनेट लगायतको महसुल छुटको व्यवस्था सुरु गर्न माग गर्दछ ।
१२) श्रमजीवि पत्रकार ऐन, २०५१ को अहिले पनि अधिकांश सञ्चारगृहले पूर्ण कार्यान्वयन नगरेकोप्रति यो बैठक खेद व्यक्त गर्दछ । पत्रकारको तलब नियमित उपलब्ध गराउन माग गर्दै ऐन कार्यान्वयन नगर्ने सञ्चारमाध्यमलाई सरकारबाट उपलब्ध हुने सेवा सुविधा रोक्न माग गर्दछ ।
१३) अहिले पनि तीनै तहका सरकारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुनै न कुनै बहानामा कुण्ठित गर्ने गरी कानुनहरु बनाउने क्रम नरोकिएकोप्रति आपत्ति जनाउँदै प्रेसमैत्री कानुन बनाउन यो बैठक माग गर्दछ ।
१४) सञ्चार सम्बन्धी संरचना, सञ्चारमाध्यम र सञ्चार सामग्रीमा समावेशिता सम्बन्धी सिद्धान्तलाई कार्यान्वयन गर्न यो बैठक माग गर्दछ । साथै, महिला, दलित, जनजाती तथा सिमान्तकृत वर्गले सञ्चालन गरेका साना लगानीका मिडियालाई विशेष प्रोत्साहन गर्न तीनै तहका सरकारसमक्ष यो बैठक माग गर्दछ ।
१५) यो ऐतिहासिक पाँचौ पूर्ण बैठकको निमन्त्रणा स्वीकार गरी महत्वपूर्ण समय प्रदान गर्नुहुने पार्टी उपाध्यक्ष, प्रवक्ता तथा संगठन इन्चार्ज अग्नि सापकोटा, संस्थापक अध्यक्ष महेश्वर दाहाल, पुर्ब संयोजक प्रचार विभाग सचिव गोविन्द आचार्यलगायत संस्थापकहरु, सल्लाहकारहरु, पदाधिकारी तथा सदस्यप्रति धन्यवाद ज्ञापन गर्दछ ।











