
काठमाडौं ,नेपाल कम्युनिस्ट पार्टी माआेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालीहरूकाे चाड माघी र माघे सक्रान्तिकाे अवसरमा सम्पूर्ण नेपालीहरू, विशेषतः थारु तथा मगर समुदायका दिदीबहिनी र दाजुभाइहरूलाई माघी/माघे सक्रान्ति/मकर सक्रान्ति पर्वको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा यो पर्वले सुख, शान्ति, समृद्धि, र सामाजिक एकताको भावना जगाओस् भन्ने कामना गर्दछु भनेर अध्यक्ष दाहालले भन्नुभएको छ ।
यो पर्व किसानहरूले नयाँ कृषि सिजनको सुरुवातको रूपमा मनाउँछन्। जाडोयामको अन्त्य र बसन्त ऋतुको आगमनलाई संकेत गर्ने यो पर्व सामूहिक खानपान र सांस्कृतिक गतिविधिमा आधारित छ, जसले सामाजिक सद्भाव र एकताको सन्देश प्रवाह गर्दछ भनेर दाहालले भन्नुभएको छ ।
माघे संक्रान्ति धार्मिक, ऐतिहासिक, सांस्कृतिक, र प्राकृतिक दृष्टिकोणले महत्त्वपूर्ण पर्व हो। यसले नेपाली समाजको विविधता, परम्परा, र संस्कृतिको झल्को दिनुका साथै, सबै समुदायबीच आपसी सहकार्य र सद्भावको भावना अझ बलियो बनाउने प्रेरणा दिन्छ भनेर सन्देशमा भन्नुभएको छ ।
हरेक नयाँ कामको सुरुवात गर्ने र जीवनका चुनौतीहरूको सामना गर्न ऊर्जा प्रदान गर्ने यस पर्वले नेपालमा विविध संस्कृति र समुदायबीच आपसी सहयोग र भाइचारा अभिवृद्धि गर्नेछ भन्ने विश्वास लिएको छु भनेर अध्यक्ष दाहालले शुभकामना सन्देशमा भन्नुभएको छ ।









