दुईवटा बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण

-


     हिडन खबर    
     पौष १९ गते २०८१ मा प्रकाशित


पर्वत जिल्ला कुश्मा नगरपालिका स्थित समग्र पाङकाे पहिचानका लागि सक्रिय रहँदै आएकाे पाङ युवा क्लबले कुश्मा नगरपालिका वडा नं. १ सिन्धाली प्रा वि र गणेश प्राथमिक बिद्यालयकाे वार्षिकोत्सबकाे अवसरमा शैक्षिक सामग्री वितरण गरेकाे छ ।

विद्यार्थीहरूकाे शैक्षिक अवस्था मजवुत बनाउने उद्देश्यले पढाइतर्फ प्राेत्साहन गराउन दुवै विद्यालयका करिब १००  विद्यार्थीलाई सामग्री वितरण गरिएकाे हाे ।

सिन्धाली प्राथमिक बिद्यालयका जेहेन्दार ५ जना, आर्थिक अवस्था न्यून भएका २ जना र गणेश प्रा वि का जेहेन्दार ४ जना तथा आर्थिक अवस्था न्यून भएका २ जनालाई थप शैक्षिक सामाग्रीका साथ सम्मान गरेकाे थियो ।

कार्यक्रममा सिन्धाली प्रा वि का बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा क्लबका सल्लाहकार दिपक सुवेदीले क्लबले गरेका यस्ता फरक खालको कार्यक्रमले सबैलाई प्रभावित भएकाे बताउनुभयाे । अबका दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिन अनुराेध गर्नुभयाे ।

क्लबका सल्लाहकार नरहरि रिजालले युवाकाे याे कार्यले आफू प्रभावित भएकाे बताउनुभयाे । साथै यस्तै कार्यक्रममा प्रयाेग गर्ने गरी रू. दुई हजार एकसय रूपैयाँ हस्तान्तरण गर्नुभयाे ।

कार्यक्रममा गणेश प्रा वि का प्रधानाध्यापक वासुदेव उपाध्याय सिन्धाली प्राबिका प्रधानाध्यापक कमल पाैडेलले यस कार्यक्रमले विद्यार्थी भइबहिनीहरूमा ठूलाे सहयाेग पुग्ने तथा आउँदा दिनमा पाेशाककाे व्यवस्थापन गर्न पाए विद्यार्थीमा ठूलाे राहत मिल्ने बताउनुभयो ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष  गिमबहादुर परियार लगाएत अभिभावकाे उपस्थिति रहेकाे थियाे ।  कार्यक्रममा क्लबका अध्यक्ष जयराम सुवेदीले क्लबकाे कार्ययोजना अनुरसार यस कार्यमा जाेडिएकाे बताउनुभयाे । साथै विद्यार्थीलाई सक्रिय बनाउने अनि अनुशासन सिकाउने जिम्मेवारी शिक्षककाे भएकाले हामी आफ्नाे क्षेत्रबाट लाग्नुपर्ने अनि अहिले राम्रो ज्ञान दिन सकेमा विद्यार्थीकाे भविष्य राम्रो हुने हुनाले यसबारे खुलेर लाग्नुपर्ने तथा आउँदा दिनमा अरू फरक विद्यार्थी प्राेत्साहनका कार्यक्रम लिएर आउने बताउनुभयाे । उपाध्यक्ष सन्देश केसी तथा सविता सुवेदीले गर्नुभएको स्वागत कार्यक्रमकाे सञ्चालन क्लबका सचिव टेकबहादुर परियाले गर्नुभएकाे  थियाे ।