बीबीसी १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी शिलशिला आचार्य

-


     हिडन खबर    
     मंसिर १८ गते २०८१ मा प्रकाशित


काठमाडौं /बिबिसीको सन् २०२४ मा टप १०० महिलाहरूको सूचिमा नेपालबाट दिगो विकास उद्यमी शिलशिला आचार्य पनि परेकी छिन् ।

शिलशिला आचार्य नेपालमा एउटा ठूलो प्लास्टिक पुनः प्रयोगसम्बन्धी सञ्जाल चलाउँछिन्। फोहर व्यवस्थापनसम्बन्धी अभ्नी भेन्चर्स नामको उनको संस्थाले सीमान्त समुदायका सदस्यलाई रोजगारी दिनुका साथै हरित क्षेत्रमा थप महिलालाई प्रोत्साहित गर्न ध्यान केन्द्रित गरेको छ।

आचार्यले सन् २०१४ मा ‘धन्यवाद, म आफैँ झोला बोक्छु’ भन्ने अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन। जसले किनमेलमा प्लास्टिक झोलाको प्रयोगमा प्रतिबन्ध लगाउन प्रेरित गरेको थियो।

वातावरण तथा फोहोर व्यवस्थापन अभियानकर्मी हिमालय सफाइको एउटा ठूलो अभियानका पछाडि पनि थिइन्। त्यस क्रममा पर्वतारोहीहरूले छाडेका ११९ टन फोहर सङ्कलन गरिएको थियो।

उनको कामको परिणाम नै हो, आदिवासी महिलाहरूले संकलन गरेको फोहरबाट शृङ्गारका सामान, म्याट र डालो बनाएर आफ्नो जीवन निर्वाहमा सहज बनाएका छन्।

अहिले बिबिसी १०० प्रभावशाली महिलाकाे सुचिमा पर्न सफल शिलशिला आचार्य बागलुङ नगरपालिका वडा नम्बर २ निवासी समाजसेवी सामाजिक ब्यक्तित्व राजेन्द्र आचार्यकाे जेष्ठ सुपुत्रि हुन् ।११ बर्ष देखि वातावरणकाे क्षेत्रमा काम गर्दै आएकी छिन् ।एमबीबीएसमा छात्रवृत्तिमा नाम निकालेर पनि उनले वातावरण क्षेत्रमा काम गरेको पिता आचार्यले बताए ।