“लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ

-


     हिडन खबर    
     मंसिर १३ गते २०८१ मा प्रकाशित


२०८१ मंसिर १३ गते पर्वत

जिल्ला प्रहरी कार्यालय, पर्वत र सामाजिक विकास कार्यालय, पर्वतको संयुक्त आयोजनामा “लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान” को जिल्ला पर्वतमा शुरू भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा आफ्नो मन्तव्य राख्दै जिल्ला समन्वय समिति, पर्वतका प्रमुख विष्णुराम विकले समाजमा कुनै पनि स्वरुपको हिंसा अन्त्य गरी समुन्नत समाज निर्माणमा हातेमालो गर्न सरोकारवाला निकायहरु जिम्मेवार हुनुपर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक रविन बिष्टले लैङ्गिक हिंसाको अन्त्यका लागि कानुनी संरचना मात्र प्रयाप्त नभई सामाजिक सोच, व्यवहार र मान्यतामा आमूल परिवर्तन आवश्यक रहेको बताए । शिक्षा, सचेतना तथा संवेदनशीलताका माध्यमबाट हिंसाको न्युनीकरण गर्न सकिने कुरामा जोड दिँदै हिंसा पीडित व्यक्तिहरूलाई सुरक्षाको अनुभूति गराउनु, उनीहरूको आवाजलाई स्थान दिनु र न्यायको सुनिश्चितता गर्नुले समाजमा सकारात्मक परिवर्तन ल्याउने कुरामा विश्वास समेत व्यक्त गरेका थिए ।

त्यसै गरी उक्त कार्यक्रममा कुश्मा नगरपालिका वडा नं १२ का वडाध्यक्ष झलक रिमाल, पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर बि पौडेल, नमुना आवासिय माद्यमिक विद्यालयका प्रधानाध्यापक ईन्द्र मान खत्री, जिल्ला मानव अधिकार संगठन, पर्वतका अध्यक्ष मानव पौडेल, समाजसेवी मान कुमारी गिरी, बह्माकुमारी ईश्वरीय विद्यालय पर्वतकी सञ्चालिका राधिका दिदी र सामाजिक विकास कार्यालयका प्रमुख गोविन्द पौडेलले आ-आफ्नो भनाई राख्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको अध्यक्षको रुपमा प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले १६ दिने अभियान एक अभियान मात्र नभई आन्दोलन भएकोले यस अभियानमा सबैले आ-आफ्नो तहबाट सहकार्य र समन्वय गर्नुपर्ने कुरा व्यक्त गरेका थिए ।

कार्यक्रममा उपस्थित महानुभावहरुले व्यानरमा दस्तखत गरी लैंगिक हिंसा न्युनीकरणमा प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, पर्वत उद्योग वाणिज्य संघका पदाधिकारीहरु, कुश्मा नगरपालिकाका बिभिन्न वडाका जनप्रतिनिधिहरु, टोल सुधार समितिहरु, गैह्र सरकारी सस्थाका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकार महासंघ पर्वतका सदस्यहरु, सरकारी तथा निजी बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरु, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरु गरी अन्दाजी ४०० जनाको उपस्थिति रहेको थियो ।

उक्त १६ दिने अभियानको शुभारम्भ कार्यक्रम भन्दा अगाडि विविध सन्देशमुलक नारा लेखिएका प्ले कार्ड सहितको प्रभातफेरी कार्यक्रम समेत सम्पन्न गरिएको थियो ।

कुश्मा न.पा वडा नं. ५ उद्योग बाणिज्य संघको सभाहलमा प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको अध्यक्षता र जिल्ला समन्वय प्रमुख बिष्णुराम बि.कको प्रमुख आतिथ्यमा कार्यक्रमको शुभारम्भ गरियो ।