
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भयरहित तरिकाले निर्वाचन सम्पन्न गर्न प्रदेश सरकार तत्पर रहेको भन्दै जिल्लाको अवस्था अनुसार सुरक्षा योजना बनाउन निर्देशन दिएका छन् । बुधबार बागलुङ सदरमुकाममा भएको अन्तर जिल्ला सुरक्षा समन्वय बैठकमा ४ जिल्लाको सुरक्षाको अवस्था, सबल पक्ष र चुनौतीका बारेमा प्रमुख जिल्ला अधिकारीहरूको प्रस्तुति सुनेपछि उनले उक्त निर्देशन दिएका हुन् । प्रदेशको आन्तरिक मामिला मन्त्रालयले गरेको कार्यक्रममा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकाय प्रमुख सहभागी थिए ।
कार्यक्रममा मुख्यमन्त्री पोखरेलले भने, ‘निर्वाचनमा कति बेला कहाँ के हुन्छ भन्न सकिँदैन, त्यही अनुसार गम्भीरतापूर्वक कार्य योजना बनाएर कार्यान्वयन गर्न आग्रह गर्छु । निर्वाचन आयोग र सङ्घ सरकारले निर्वाचनका लागि विशेष योजना बनाउने भए पनि यसमा प्रदेश सरकार समन्वय गरेर अगाडि बढ्ने नेपालीले बताए ।
उक्त अवसरमा ४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले जिल्लाको शान्ति सुरक्षा र चुनौती अनि समस्याका बारेमा प्रस्तुति राखेका थिए । बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, पर्वतका नारायण प्रसाद सापकोटा, म्याग्दीका चिरञ्जीवी राना, मुस्ताङका नेत्रप्रसाद शर्माको प्रस्तुतिमा उठेका विषयवस्तुमाथि छलफल गरिएको थियो ।
बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखकाे पनि उपस्थिति रहेको थियो ।









