राप्रपा निर्णायक आन्दोलनको तयारीमा

-


     हिडन खबर    
     असाेज ८ गते २०८१ मा प्रकाशित



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशम्शेर राणाले भ्रष्टाचारीहरूलाई जेलमा हाल्नेहरू एकजुट भएर आन्दोलन गर्नुपर्ने बेला आएको बताएका छन् ।राप्रपा अब देशमा निर्णायक आन्दोलनको तयारीमा जुटिरहेको बताएका छन् ।

राप्रपाले गर्ने आन्दोलनको भावी रणनीतिबारे कार्यकर्तालाई प्रशिक्षणमा सम्बोधन गर्दै उनले देशमा परिवर्तन चाहने, सनातन हिन्दु राज्य चाहने, संवैधानिक राजसंस्था चाहनेहरुले एकजुट भएर आन्दोलन गर्नुपर्ने बेला आइसकेको बताएका हुन् ।

उनले भने, ‘देशमा परिवर्तन चाहने, सनातन हिन्दु राज्य चाहने, संवैधानिक राजसंस्था चाहने र देशमा भ्रष्टाचारीहरूलाई जेलमा हाल्नेहरू एकजुट भएर आन्दोलन गर्नुपर्छ।

हामीले अलग्गै अलग्गै आन्दोलन गरे गाह्रो हुन्छ।’साथै उनले देशभर जनता आन्दोलनको मुडमा पुगिसकेको बताए ।

एक्ला एक्लै आन्दोलन गरेर सफल नहुने भन्दै विचार मिल्ने शक्तिहरूलाई एकताबद्ध भएर होमिन आह्वान गरे।
उनले समान विचारधारा भएकाहरूलाई समेट्ने प्रयास गर्दा पनि असफल भएको बताए।

उनले मंसिरबाट आफूहरू आन्दोलनको सुरुआत गर्ने भएकाले विचार मिल्नेहरूलाई एकजुट हुन आह्वान गरे।उनले भने, ‘यो आन्दोलन एक दिनको हुँदैन।

सबै व्यवस्था गर्छौँ सातदेखि दश दिनसम्म काठमाडौं उपत्यका ठप्प बनाएर नालायक सरकारलाई घुँडा टेकाएर मात्रै विश्राम लिने बताए ।

’यस्तै, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपालको संविधान २०७२ लाई प्रचण्डको संविधान २०७२ भन्ने गरेको बताएका छन् । उनले नेपालमा गणतन्त्र प्रचण्डकै कारण आएको बताए ।

उनले भने, ‘मैले नेपालको संविधान २०७२ भन्ने गरेको छैन  मैले यसलाई प्रचण्डको संविधान २०७२ भन्ने गरेको छु ।

नेपालको संविधान होइन, प्रचण्डको संविधान २०७२ हो भन्ने गरेको छु भने, यो किन भनियो भने, ६२–६३ को जुन आन्दोलन भयो ।

आन्दोलन पछि विभिन्न चरण पार गर्दै जुन संविधान आयो त्यो संविधानलाई नेपालका ठूला दलहरुले हामीले ल्याएर आएको गणतन्त्र ,संघीयता भनेर हात उचाली उचाली भन्ने गरेको छ , तर वास्तविकता के हो भने उहाँहरुले २००६ साल ७ सालदेखि नै नारा लाउँदै आएको हो भने पनि प्रचण्ड भन्ने प्राणी नभैइदिएको भए नेपालमा गणतन्त्र पनि आउने थिएन, संघीयता नि आउने थिएन अनि धर्म निरपेक्षता पनि आउने थिएन ।

साथै उनले कांग्रेस, एमाले र माओवादीमा पनि संवैधानिक राजसंस्थाको पक्षमा माहोल बढ्दै गएको भन्दै दलहरूसँग संवाद पनि जारी राख्नुपर्ने बताए ।