बडादशैँकाे टीकाकाे  उत्तम साइत बिहान ११ः३६ बजे

-


     हिडन खबर    
     असाेज ५ गते २०८१ मा प्रकाशित


५ असोज  काठमाडौं / नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यो वर्षको विजया दशमीको टीकाकाे शुभसाइत असोज २६ गते शनिवार बिहान ११ः३६ बजेका लागि उत्तम भएको जनाएको छ ।

समितिले शुक्रवार सार्वजनिक गरेको बडादशैंको साइतको सूचना अनुसार असोज २६ गते बिहान ८ः३३ बजे देवी विर्सजनको साइत रहेको छ । समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीका अनुसार विजया दशमीको टीका लगाइ माग्ने व्यक्ति (प्रसाद ग्रहण गर्दा) पूर्वतर्फ फर्केर बस्नु पर्छ ।

यस वर्षको नवरात्र अर्थात बडादशैँ असोज १७ गते बिहीवारदेखि प्रारम्भ हुनेछ । समितिका अध्यक्ष भट्टराईले असोज १७ गते बिहान ९ः१६ बजे घटस्थापनाको साइत रहेको बताउनुभएको छ  ।

असोज १८ गते शुक्रवार झन्डा फेर्ने (पश्चिम मोहडा) बिहान ९ः१४ बजे, असोज २२ गते मंगलवार पचलीभैरव यात्रा, असोज २४ गते बिहीवार फूलपाती तथा श्री तुलजा भवानी यात्रा बिहान ७ः११ बजे तथा स्थिरासन बिहान ८ः४३ बजे साइत रहेको समितिले जनाएको छ ।

असोज २४ गते फूलपातीको दिनदेखि सरकारी कार्यालयहरुमा दशैंको सार्वजनिक बिदा सुरु हुने भएकाले दशैंको चहलपहल  ह्वात्तै बढ्ने गर्द छ ।


समितिले जनाए अनुसार यो वर्ष महाअष्टमी तथा महानवमी पर्व एकै दिन अर्थात असोज २५ गते शुक्रवार परेको छ ।

त्यसैगरी असोज ३० गते बुधबार अखिलबलीपूर्ति गर्नुपर्ने समिति सदस्य एवं धर्मशास्त्र विद् प्राडा देवमणी भट्टराईले बताए । यसै दिन कोजाग्रत पूर्णिमा मनाएसँगै यस वर्षको दशैं समापन हुनेछ ।

यस वर्षको नवरात्र अर्थात् दशैं यही असोज १७ गते बिहीबारदेखि शुरू हुँदैछ । त्यस दिन बिहान ९:१६ बजे घटस्थापनाको साइत रहेको समितिले जनाएको छ ।