काठमाडौं ।संविधान दिवस भब्य रूपमा मनाउन काठमाडौंको दरबारमार्ग मूल सडकमा आज र भोलि गाडी चलाउन नपाइने भएको छ ।
संविधान दिवसको दिन भोलि असोज तीन गते दरबारमार्गमा हुने साङ्गीतिक कार्यक्रमका लागि स्टेज बनाउने काम भइरहेको छ । कार्यक्रमकाे लागि स्टेज बनाउने काम भइरहेकाले यो क्षेत्रमा गाडी चलाउन रोक लगाएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार केशरमहल चोकबाट नारायणहिटीको दक्षिणगेटतर्फ जाने गाडीलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने गाडीलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिणगेटतर्फ जाने गाडीलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ ।
सरकारले संविधान दिवसको मूल समारोह सैनिकमञ्च टुँडीखेलमा गर्ने र बेलुका नारायणहिटी दरबार अगाडिको सडकमा साङ्गीतिक कार्यक्रम गर्ने निर्णय गरेको थियो ।