
काठमाडौं । दिल्लीको नयाँ मुख्यमन्त्रीको नाम सार्वजनिक भएको छ । आतिशी मार्लेना दिल्लीको नयाँ मुख्यमन्त्री बन्ने भएकी छन् ।
दिल्ली सरकारका मन्त्री गोपाल राईले यसबारे जानकारी दिएका हुन् ।
मंगलबार बिहान करिब ११ बजे बसेको व्यवस्थापिका–संसद्को बैठकले आतिशीको नाम अनुमोदन गरेको हो । राईले आतिशीलाई सर्वसम्मतिले मुख्यमन्त्रीमा निर्वाचित गरेको बताए ।
राईले आतिशी अप्ठ्यारो परिस्थितिमा दिल्लीको मुख्यमन्त्री बन्ने बताए । राईले भने, ‘भाजपाले आम आदमी पार्टीलाई तोडेर सरकार ढाल्ने प्रयास गरेको छ । तर, हामीले उनीहरुको सबै प्रयासलाई विफल बनायौं ।’
केजरीवाल जेलमा हुँदा आतिशीले सरकारको महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । उनी अहिले शिक्षा लगायतका महत्वपूर्ण विभागहरु सम्हाल्दै आएकी छिन् ।
केजरीवालले आप कार्यकर्ताहरूलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेदेखि नै यो पद कसले लिने भन्ने चर्चा चलेको थियो । अब केजरीवालले दिल्लीका लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनालाई भेटेर राजीनामा बुझाउनेछन् ।
अरविन्द केजरीवाल १३ सेप्टेम्बरमा तिहाड जेलबाट रिहा भएका थिए । उनी मदिरा काण्डको आरोपमा जेलमा थिए । त्यसपछि आइतबार कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका थिए ।













