
काठमाडौँ –सर्वोच्च अदालतले काठमाडौं उपत्यकाकाे नदि किनारबाट दायाँबायाँ २०/२० मिटर मापदण्डमा थप २०/२० थप गरेको भन्दै उपत्यकाका नदी तथा खोलाको थप मापदण्ड खारेज गर्न माग गर्दै काठमाडौँमा दबाब र्याली निकालिएको छ।
सोमबार काठमाडौँ उपत्यकाका नदी/खोला किनारका बासिन्दाले नयाँ मापदण्डविरुद्ध प्रदर्शन गरेका हुन्।
गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिको आयोजनामा दबाब र्याली निकालिएको हो।
कुपण्डोलको बागमती पुलमुनिबाट सुरु भएको र्याली थापाथली, त्रिपुरेश्वर, कुपण्डोल नयाँ पुल हुँदै पुनः र्याली सुरु भएको स्थानमा पुगेर समापन भएको थियो ।
प्रकाशमणि शर्माले १३ वर्षअघि दायर गरेको रिटको अन्तिम सुनुवाका क्रममा न्यायाधीश आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले गत पुस ३ गते २०६५ सालमा निर्धारित मापदण्डमा थप २० मिटर थप्न आदेश दिएको थियो।
उक्त आदेशमा काठमाडौँ महानगरपालिकाले गत साउन ३० गते सूचना निकालपछि उपत्यकाबासी आतंकित भएका थिए।













