
पोखरा, १० भदौ । नेकपा (माओवादी केन्द्र)को गण्डकी प्रदेशस्तरीय केन्द्रीय परामर्श बैठक आज सकिएको छ ।
हिजोबाट सुरु भएको बैठकमा केन्द्रीय पदाधिकारीसहित सो प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
बैठकमा गण्डकी प्रदेशमा कार्यरत केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारी गरी ५९ जनाले पार्टी निर्माणका लागि सुझाव पेश गर्नुभएको थियो ।
बैठकलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गर्नुभएको थियो ।
केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत परामर्श बैठक सुरु गरिएको हो ।
जसअनुसार बागमती, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशको बैठक सम्पन्न भइसकेको छ । अब भदौ १२ र १३ गते सुदूरपश्चिम प्रदेशमा त्यस प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीसहितको परामर्श बैठक बस्नेछ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय पदाधिकारीले प्रदेशमा कार्यक्षेत्र भएका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरुको परामर्श लिने गर्नुभएको छ ।
प्रदेश परामर्श बैठकमा अध्यक्ष प्रचण्डले सुरुमा विषय प्रवेश गराएर नेताहरूको सुझाव सुन्ने गर्नुभएको छ । प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ। केन्द्रीय कमिटीले ठोस निर्णय गरेर नियमित कार्यक्रमिकरुपमा जनतामा जाने माओवादीको तयारी छ।
परामर्श बैठक कहाँ कहिले ?
- बागमती प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ५ र ६ गते ।
- उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ७ र ८ गते ।
- गण्डकी प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ९ र १० गते ।
*सुदूपश्चिम प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ १२ र १३ गते । - कर्णाली प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ १४ र १५ गते ।
- लुम्बिनी प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ १६ र १७ गते ।
- तीन वटै केन्द्रीय आयोगका सदस्यहरूको बैठक भदौ १८ र १९ गते ।
- मधेश प्रदेशका के.स. हरूको बैठक भदौ २२ र २३ गते ।
- १ नं प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ २४ र २५ गते ।
- ज.व.स. मोर्चामा कार्यरत पार्टी के.स. हरू र केन्द्रीय विभागहरूमा कार्यरत पार्टी के.स. हरूको बैठक भदौ २७ र २८ गते ।
- प्रवास प्रदेशमा कार्यरत पार्टी के.स. हरू तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ३१ र असोज १ गते ।
- जेष्ठ कम्युनिस्ट मञ्च र केन्द्रीय सल्लाहकारहरूको बैठक असोज २ र ३ गते ।













