प्रदिपको विश्व रेकर्ड, एक वर्षमै ४५० तीर्थ स्थलको दर्शन

-


     हिडन खबर    
     भाद्र ७ गते २०८१ मा प्रकाशित


काठमाडौं / नेपालका प्रदीप खनालले एकै वर्षमा ४५० वटा तीर्थस्थल भ्रमण गरेर आफू ‘विश्वमै पहिलो’ व्यक्ति भएको बताएका छन् । उनले गत जुलाई अन्तिममा ४५० वटा तीर्थस्थल भ्रमण पूरा गरेपछि चर्चामा छन् ।

भारतका प्रसिद्ध जगतगुरु स्वामी ऋषिपाल आनन्दले भनेका छन्, ‘खनालले सयौं वर्षपछि विश्वमा आजसम्म कसैले नगरेको तीर्थयात्रा एकै वर्षमा पूरा गरेका छन् ।

भारतकै कल्की अवतार भगवानले त्यसमा थपेका छन्, ‘शंकराचार्य र नानक देवपछि नेपालका प्रदीप खनालले यतिका तीर्थस्थलको भ्रमण पूरा गरेका छन्, यो इतिहासमै दुर्लभ घटना हो ।

भारतको मणिकारण शिव मन्दिरको अन्तिम पटक भ्रमण गरेर नेपाल फर्केपछि खनालले आफूले ४५० औँ तीर्थस्थल यात्रा सम्पन्न गरेको बताए । उनले भने, ‘यो कठिन भ्रमण पूरा गर्दा सनातनी धर्मगुरुहरूले मलाई विश्वमै पहिलो व्यक्ति ठान्दै बधाई दिइरहनु भएको छ ।

उनलाई अहिले फोन तथा सामाजिक सञ्जालमा बधाई तथा शुभकामना दिने सनातन धर्मप्रेमीहरूको ओइरो लागेको छ । ‘बधाई तथा शुभकामना आइरहेका छन्, विश्वमै मैले पहिलो पटक यो यात्रा पूरा गरेको छु भनी म आफूले दाबी गरेको हैन, विश्वप्रसिद्ध धर्मगुरुहरूले भन्नु भएको हो,’ उनले थपे ।

छोटो समयमा ४५० तीर्थस्थलको भ्रमण गरी फर्किएका खनाल ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा आफूलाई दर्ज गर्न प्रयासरत् छन् । ‘त्यसका निम्ति गर्नुपर्ने कार्यहरूको तयारी गरिरहेको छु, हेरौं सफल हुन्छु भन्ने लागेको छ,’ खनालले भने ।

खनाल धार्मिक तथा सांस्कृतिक अभियन्ता हुन् । उनी अन्तर्राष्ट्रिय मैत्री समाजका अध्यक्ष पनि हुन् ।

धार्मिक–सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पशुपतिनाथबाट तीर्थयात्रामा निस्किएका खनालले नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र चीनको तिब्बत गरी छ । वटा राष्ट्रका ४५० तीर्थस्थलको भ्रमण सकाएको बताए