
काठमाडौं / स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत रकमको दायरा बढाएर कम्तीमा पाँच लाख रुपैयाँ बनाउने प्रस्ताव गरेका छन्।
स्वास्थ्य बीमामा सबै नागरिक समावेश गर्न नसकेको र उपचार लिन जाँदा सेवाग्राहीले भोग्नुपरेको सास्तीलाई उल्लेख गर्दै स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य बीमा परिमार्जन गरेर लैजानुपर्ने बताए । पौडेलले बीमाको दायरा बढाएर कम्तीमा पनि ५ लाख बनाउने प्रस्ताव गरेका छन् ।
मन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले बिमाको दायरा बढाउने प्रस्ताव गरेका हुन्।
‘हामी कर कोषबाट ल्याएर बिमामा रकम थप गरेर भए पनि स्वास्थ्य बिमाको दायरा बढाउने तयारीमा छौँ,’ मन्त्री पौडेलले भने, ‘चिनीजन्य सामग्रीमा कर लगाएर भए पनि बिमामा रकम बढाउनुपर्छ।’
स्वास्थ्यमन्त्री पौडेलले सातै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गरिने पनि बताए। साथै, उनले सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने पनि जानकारी दिए।









