ब्रेन क्यान्सर पीडित राजु केसीलाई ५३ लाख सहयोग उठ्यो

-


     हिडन खबर    
     श्रावण २५ गते २०८१ मा प्रकाशित


बागलुङ, २५ साउन / ब्रेन क्यान्सबाट पीडित बागलुङ नगरपालिका २ का राजु केसीको उपचारकालागि थालिएको एक हप्ते आर्थिक सहयोग अभियानमा ५३ लाख ३१ हजार रुपैयाँ सहयोग संकलन भएको छ ।

संकलन भएको सहयोग रकम शुक्रबार बागलुङ सदरमुकाममा पत्रकार सम्मेलन मार्फत केसीका बुबा राम बहादुर केसीलाई उपचारकालागि उठेको ५३ लाख ३१ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हाे ।

उपचारको लागि परिवारको आर्थिक अवस्थाले थेग्न नसकेपछि केसीको उपचारमा नेपालबाट ५० लाख संकलन गर्ने लक्ष्य रहेपनि ५३ लाख रुपैयाँ सहयोग संकलन गर्न सफल भएको र विदेशमा समेत उठेको सहयोगले झण्डै एक करोड रुपैयाँ रकम उपचारकालागि जुटेको राजु केसी सहयोग मुल समितिका संयोजक जगदिश चन्द्र उपाध्ययाले बताए ।

बागलुङ नगरपालिका–२ हल्लन चोकका ब्रेन क्यान्सर पीडित राजु केसीको उपचारकालागि सहयोग संकलन अभियानलाई हाल स्थगन गरिएको उपाध्ययाले बताए ।

ब्रेन क्यान्सर पीडित केसीको अष्ट्रेलियाको मेलबर्नमा उपचार भइरहेको छ । केसीको उपचारमा हालसम्म परिवारले एक करोड ५० लाख रुपैयाँ खर्च गरिसकेको केसीका बुबा राम बहादुर केसीले बताए ।

लामो समय बागलुङका सामाजिक क्रियाकलापमा सक्रिय केसी ब्रेन क्यान्सर रोगका कारण अस्ट्रेलियाकाे अस्पतालमा उपचाररत छन् । २ वर्ष अगाडीदेखि क्यान्सरको संक्रमण भएका केसीलाई परिवारका सदस्यले धेरै रकम खर्चेर उपचार गरिरहेका छन् ।

परिवारका सदस्यले झण्डै एक करोड ५० लाख रुपैयाँ खर्चेर पनि निको नभएकोले थप उपचारकालागि सहयोगको याचना गरिएको थियो । सहयोग संकलन अभियानमा बागलुङका विभिन्न व्यक्ति, संघ संस्था, विद्यालय, टोल समूह, आमा समूह र सहकारीका सदस्यहरुले सहयोग गरेको उपाध्ययाले जानकारी दिए ।