रामरेखा आधारभूत विद्यालयलाई डिआइआरडिसीद्वारा भ्यान हस्तान्तरण

-


     हिडन खबर    
     श्रावण १५ गते २०८१ मा प्रकाशित


बागलुङ । रामरेखा आधारभूत विद्यालयमा अध्ययरत अपाङ्गता भएका र विपन्न विद्यार्थीहरुलाई लक्षित गरेर स्कुल भ्यान सेवा सञ्चालनमा आउने भएको छ ।

डिआइआरडिसी को पहलमा विद्यालयका अपाङ्गता भएका र विपन्न विद्यार्थीको शिक्षामा पहुँच पुगोस भनि विद्यालयलाई भ्यान उपलब्ध गराएको हो ।

बसको व्यवस्थापछि बागलुङ नगरपालिका-१ को रामरेखामा रहेको यस विद्यालयका बालबालिकालाई विद्यालय आउजाउ गर्न धेरै सहज हुने भएको छ । डिआइआरडिसीको पहलमा झण्डै ५० लाख रुपैयाँ पर्ने गाडी राजश्व छुट गरेर २० लाख रुपैयाँमा भित्राइएको हो ।

डिआइआरडिसीका अध्यक्ष केवी राना मगरले मंगलबार उक्त गाडीको चाबी बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठलाई हस्तान्तरण गर्नु भयो ।

नगरपालिकाको पहलमा चालक र अन्य खर्च दिने गरी भ्यान सञ्चालनमा आउने भएको छ । नगरप्रमुख श्रेष्ठले उक्त चाबी प्रधानाध्यापक सिर्जना शर्मालाई हस्तान्तरण गर्नु भयो ।

उक्त अवसरमा नगरप्रमुख श्रेष्ठले अपांग र मजदुरका छोराछोरी पढ्ने विद्यालयमा गाडी भित्रिएपछि बालमैत्री नगर निर्माणमा थप साथ मिलेको बताउनु भयो । उनले कतै विद्यार्थी नभएर विद्यालय बन्द गर्नुपरेको अवस्था आएको भन्दै विद्यार्थी भएका स्थानमा गाडी दिन पाएकोमा खुसी व्यक्त गर्नु भयो।

यस विद्यालयमा मालढुंगा र खहरेदेखि मजदुरका बालबालिका पढ्न आउने गरेका छन् । शिक्षक विष्णुराज पौडेलका अनुसार यहाँ १३ जना शारीरिक अपांग भएका बालबालिका पढ्छन् भने कुल १ सय ४० विद्यार्थी छन् ।

अधिकांस नगरक्षेत्रभन्दा बाहिरबाट आएर बसेका मजदुरका बालबालिकाहरु छन् । कतिपय जिल्लाकै दुर्गम स्थानका बालबालिकाहरु पनि यहाँ आइपुगेका छन् । अपांगता भएका बालबालिका पनि बाहिरका हुन् ।

यहाँ शारीरिक अपांगता भएकाहरुको छात्राबासको व्यवस्था पनि छ । आयाको तलब, बालबालिकाको खाने बस्ने व्यवस्थापन भने नगरपालिकाले गरेको छ । यो वर्षदेखि आयाको तलब बढाएर छात्राबासलाई पनि प्रभावकारी बनाउने उनले बताए ।

स्कुल बस हस्तान्तरण कार्यक्रममा डिआइआरडिसीका अध्यक्ष केवीराना मगरले अपांग बालबालिकाको शिक्षामा सबैको साथ र सहयोग चाहिने बताए ।

उनले रामरेखा विद्यालयको लागि यसअघि संस्थागत रुपमा भवन निर्माण तथा अपांगमैत्री ¥याम्प निर्माणमा पनि साथ दिएको भन्दै अन्य सेवामा पनि लाग्ने प्रतिबद्दता जनाए ।कार्यक्रममा नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले पनि मन्तव्य व्यक्त गर्नु भएको थियो ।