
बागलुङ,१० साउन –श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिर शालग्राम क्षेत्र कुडुले फेदीले जगत गुरु कमलनयनाचार्य यतिराज आश्रम माईघर झापाका मठाधिश श्री १००८ स्वामी केशवाचार्यलाई अभिनन्दन गरेको छ ।
श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिरका संस्थापक बैकुण्ठवासी स्वामी श्रीधराचार्यको त्रिदिवशिय कार्यक्रमका साथ ८५ औ जन्मोत्सव मनाउन शुरु गरेको मुक्तिनारायण मन्दिरले स्वामी केशवाचार्यलाई रु ५१ हजार सहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।
मन्दिरका अध्यक्ष तथा शालग्राम संग्रहालयका परिकल्पनाकार स्वामी ऋषि प्रपन्नाचार्य र नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले संयुक्तरुपमा अभिनन्दन गर्नुभएको थियो । सनातन वैदिक धर्म संस्कृतिको क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै अभिनन्दन गरिएको स्वामी ऋषि प्रपन्नाचार्यले वताउनुभयो ।
धर्म संस्कृतिको क्षेत्रमा लामो समय सम्म योगदान गरेका सन्त महात्मा लाई सम्मान गर्ने उदेशयले मन्दिरले छुट्टै कोष खडा गरेको र सोही कोषबाट सम्मान गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यस अघि सो पुरस्कार बाट गतवर्ष वैदिक गुरु स्वामी पुरुषोक्तम आचार्यलाई सम्मान गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले शान्ति र शुख प्राप्तीका लागि सबै संग आध्यात्मिक शक्तिको आवश्यकता पर्ने वताउनुभयो । उहाँले सन्त महात्मा र शास्त्रले वताएका कुरा मानवजिवनमा लागु हुनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा सम्मानित व्याक्तित्व स्वामी केशवाचार्य, लक्ष्मीहरि मन्दिर पर्वत सहस्रधाराका अध्यक्ष श्री १ हजार ८ स्वामी नारायण प्रपन्नाचार्य उपाध्याय, रामानुज आश्रम पाल्पाका मठाधिश श्री १ हजार ८ स्वामी डाक्टर केशव आचार्य, र प्राध्यापक डाक्टर भानुभक्त आचार्य शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
त्रिदिवशिय कार्यक्रमका साथ जन्मोत्सव मनाउन शुरु गरेको शालग्राम क्षेत्रले ४८ घण्टे अखण्ड कृतन, निशुल्क आँखा परिक्षण शिविर, प्रवचन, दैनिक पाठपारायण लगायतका कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम –श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिरका अध्यक्ष तथा शालग्राम संग्रहालयका परिकल्पनाकार स्वामी ऋषि प्रपन्नाचार्यको अध्यक्षता र उपाध्यक्ष हरिप्रसाद उपाध्यायको संचालनमा सम्पन्न भएको थियो ।












