
काठमाडाैं ।अाज साउन महिनाकाे पहिलाे साेमबार, भगवान शिवकाे पूजा अाराधना गरि मनाइँदैछ ।काठमाडौकाे प्रसिद्ध दाेस्राे पशुपतिनाथ भनेर परिचित चन्द्रागिरि नगरपालिका ६ चन्दन भराटेश्वर मन्दिरमा भक्तजनहरू पानी परेपनि मन्दिरमा पुगेका छन् र
साउन महिनाको पहिलो सोमबार नेपालकाे दाेस्राे पशुपतिनाथ भनेर मानिने काठमाडौ चन्दन भराटेश्वर मन्दिरमा भक्तजनहरू बिहानैदेखि मन्दिरमा पुजा गर्न पुगेका छन् ।
साउन महिनालाई भगवान शिवकाे महिनाका रुपमा लिइन्छ । साउन महिनामा शिवको पूजा अाराधना गरे सबै भगवानको पूजा गरे बराबर फल पाइने धार्मिक विश्वास भएको कारण चन्दन भराटेश्वर मन्दिरमा पुजाकाे लागि भक्तजन पुग्ने गरेकाछन् ।
मन्दिरमा भगवान शिवलाइ चढाउने बेलपत्र बेल लगायतका फूल प्रसादकाे समेत ब्यापार हुने गरेको छ ।
माता पार्वतीले साउन महिनाभरि निराहर व्रत बसेर भगवान शिवलाई पाएको जनविश्वास छ । सोमवारे व्रतको प्रभावले माता पार्वतीले महादेव स्वामी पाएको समेत धार्मिक ग्रन्थमा उल्लेख छ । यसकारण महिलाहरूले साउनलाई विशेष महत्त्व दिन्छन् ।
साउन महिनाभर र विशेष त साउने साेमबारका दिन महिलाहरु व्रत बस्छन् । कतिपय पुरुष पनि ब्रत बस्ने गरेकाे पाइन्छ । ज्योतिषशास्त्र अनुसार सोमबारको स्वामी भगवान् शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ । साउनकाे व्रत बसी शिवको पूजा अारधना गरे आफू, श्रीमान, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ ।
शिवको अर्थ कल्याण भएकाले विधिपूर्वक आराधना गर्दा उहाँ खुशी भएर मनोकामना पूरा गरिदिनुहुन्छ भन्ने धार्मिक समेत विश्वास छ ।
सुख प्रदान गर्ने, पाप नाश गर्ने र भक्तलाई कल्याण गर्ने रूपमा शिव भगवानको उपासना गर्ने गरिन्छ । धार्मिक र पौराणिक ग्रन्थमा ब्रह्मालाई सृष्टि, विष्णुलाई रक्षा र शिवलाई संहारका देवता मानिएको छ। शिवलाई सम्पूर्ण देवताका पनि देवता (देवाधिदेव) महादेव समेत भनिएको छ ।
याे वर्ष साउनमा चार वटा साेमबार परेकाे छ । साउन महिना धार्मिक, प्राकृतिक र सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले विशेष महिनाका रूपमा लिइन्छ । साउन महिनाबाटै नेपाली चाडपर्व सुरु हुन्छन् । साउनमा रुद्री लगाउने चलन समेत छ । साउनमा दान गर्दा राम्राे हुने समेत विश्वास गरिन्छ ।
साउन महिना प्राकृतिक रुपमा हरियाली महिना पनि मानिन्छ । नेपाली समाजमा साउनभर महिलाहरुले हरिया चुरा र मेहन्दी लगाउने प्रचलन समेत बढेकाे छ ।
चन्द्रागिरि पहाडको काखैमा अवस्थित चन्दन भराटेश्वर महादेव मन्दिर काठमाडौंको महादेवस्थानमा अवस्थित प्राचीन ऐतिहासिक धार्मिकस्थल हो। चन्द्रागिरि नगरपालिकामा रहेको यो मन्दिर भगवान शिवका ६४ वटा ज्योतिर्लिङ्गमध्ये ५०औं मानिन्छ।भस्म गङ्गाबाट बहेर आएकी नवधारा तीर्थमा स्नान गरेर चन्दन भराटेश्वरको विधिवत् पूजा गरेमा आफूले चाहेको कुरा प्राप्त हुन्छ भन्ने किम्वदन्ती हिमवतखण्डमासमेत उल्लेख गरिएको छ।












