दुई सातापछि संचालनमा आयो कालिगण्डकी करिडोर बागलुङ खण्ड 

-


     हिडन खबर    
     श्रावण ४ गते २०८१ मा प्रकाशित


बागलुङ- दुई साता अघिदेखि पहिरोले अवरुद्ध भएको कालीगण्डकी करिडोर बागलुङ खण्ड संचालनमा आएको छ । बागलुङ नगरपालिका वडा नम्बर १० दब्ल्याङको पहिरोले सडक बगाउँदा सडक अवरुद्ध भएको थियो । पहिरो हटाएर शुक्रबार विहान देखी एक तर्फि रुपमा सडक संचालन गरिएको हाे । 

करिडोर बागलुङ खण्डको सडक अवरुद्ध हुँदा दक्षिण बागलुङको यातायात ठप्प भएको थियो भने सर्वसाधारणले धेरै सास्ती खेप्नु परेको थियो । पहिरोका कारण कालिगण्डकी करिडोर सँगै बागलुङ, मालढुंगा कुश्मिसेरा सडक खण्ड पनि अवरुद्ध बनेको थियो ।

तत्कालका लागि कालिगण्डकी करिडोर मात्र संचालनमा ल्याईएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरिक्षक विजय यादवले बताए ।असार २१ गते शुक्रबार देखीको वर्षाका कारण सडक माथिबाट आएको पहिरोले अवरुद्ध सडक असार २५ गते साँझ केही समय खुलेपनि पुन असार २६ गतेको भारी वर्षाका कारण सडकको भाग पुर्णरुपमा बगाएको थियो । 

तत्कालका लागि बागलुङको बलेवा तर्फका सवारी मात्र सञ्चालनमा आएको हो । जैमिनी क्षेत्रका पहिरोहरु भने हटाउन बाँकी रहेको प्रहरीले जनाएको छ । करिडोरको सबै खण्डमा सवारी सञ्चालनमा ल्याउन भने तत्काल सम्भव नभएको प्रहरीले जनाएको छ ।

करिडोर कार्यालयले , बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाले करिडोर खुलाउने प्रयास गरेका थिए । लामो समयदेखि दक्षिण बागलुङ जोड्ने मुख्य सडकको रुपमा रहेको करिडोर र बागलुङ कुश्मिसेरा सडक अवरुद्ध भए सँगै दक्षिण बागलुङका आम सर्वसाधारणले दुःख खेप्नुपरेको थियो  ।  

दैनिक उपयोग्य वस्तु ढुवानीमा समस्या भएको थियो भने नियमित यातायात संचालन नहुँदा किसानले उत्पादन गरेको दुधलाई सहज रुपमा बजार ल्याउन सकिएको थिएन । सडक अवरुद्ध भएकै कारण तरकारी लगाएका वस्तुहरु पनि बजार पठाउन कठिनाई भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए ।

शर्माका अनुसार बागलुङको जैमिनी क्षेत्रबाट मात्रै दैनिक ४०० लिटर दूध बागलुङ बजारमा ल्याउने भए पनि सडक अवरुद्ध हुँदा पर्वतको कुश्मा हुँदै आउनु पर्ने अवस्था रहेको छ । करिडोर अवरुद्ध भए सँगै दक्षिण जैमिनी, बरेङका स्थानियले सकस बेहोर्नुपरेको छ नगरउपप्रमुख शर्माले भने सडक बन्द हुँदा बागलुङ नगरपालिका—१४ नारायणस्थानको कैयाको झोलुङ्गे पुल र यान्त्रिक पुल र बञ्जीजम्पको पुल तरेर कुश्मा पुगेर सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको थियो ।  

दुध र तरकारी पनि पुलबाट बोकेर कुश्मा तारेर बजार पठाउनुपर्ने बाध्यता थियो ।’ पहिरोका कारणा जैमिनी र बलेवा क्षेत्रका नागरिकहरु पैदल हिँडेर, पर्वतको कुश्मा वा मालढुंगा आउनुपर्ने बाध्यता रहेको छ । वर्षा सँगै हरेक वर्ष यही पहिरोले दक्षिण बागलुङबाट सिधा यातायात टुटाउने गरेको छ । पहिरोको दिर्घकालिन समाधान खोजिए पनि कुनै पनि तहबाट हुन सकेको छैन ।