
बागलुङ / बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मार्फत बागलुङ नगरपालिका भित्र वितरण गर्दै आएको योजनाको पानी लगातार रूपमा परेको बर्षाकाे
कारण ठाउँ ठाउँमा ल्याइएको मुहानबाट पानी नआएपछि
बजारमा खानेपानीको हाहाकार मच्चिएको छ ।
बागलुङका उपभोक्तालाई शुद्व खानेपानी खुवाउने कबाेलका साथ आएको नयाँ कार्यसमिति समेत यतिबेला खानेपानी खुवाउने काममा भन्दा पनि राजनीति खिचातानीमा लागेको कारणले खानेपानी ल्याउने काममा लागेको देखिदैन ।
निर्वाचित अध्यक्ष केवी राना मगरले खानेपानी समिति भित्र खिचातानी भएपछि काम गर्ने वातावरण नभएको भनी केही महिनाअघि पदबाट राजीनामा दिएपछि समिति थप विवादमा पर्दै गइरहेको छ ।
बागलुङ सदरमुकाममा ल्याइएको खानेपानी लेखानीकाे भुग्दी खाेलाकाे मुहानबाट पानी नआएपछि बजारमा एकसातादेखि उपभोक्ताको घर घरमा खानेपानी नपुगेको कारण समस्या आएको खानेपानी उपभोक्ता समितिकाे कार्यालयले जनाएको छ ।
बागलुङ नगरपालिका ३ कैलामपाेखरी लिफ्टिङ खानेपानी आयोजना समेत पुर्ण क्षमतामा नचलेको कारण नगरपालिकाकाे वडा नम्बर १,२,३,र ४ भित्र खानेपानी अभाव भएको गुनासो उपभोक्ताले गरेपनि अहिलेसम्म समिति जिम्मेवार नबनेको कारण उपभोक्ता मर्कामा परेका छन् ।
लिफ्टिङ खानेपानी आयोजनाकाे ८ वटा माेटर मध्य अहिले २ वटा मात्र संचालन भइरहेको ६ वटा माेटर सामान्य मर्मत नगर्दा खानेपानीकाे चरम हाहाकार हुन पुगेकाे छ ।
४ हजार भन्दा बढी खानेपानी उपभोक्ता यतिबेला खानेपानी उपलब्ध नभएपछि मर्कामा परेका छन् । अहिले बागलुङ नगरपालिका भित्र पुरानो योजना रेश खाेला र रिठे खाेलाकाे
पानी आएपनि यो पानी उपभोक्ता लाई नपुगेको कारण पानी अभाव हुन पुगेको छ ।अहिले बिग्रेको खानेपानी कहिले सम्म मर्मत गरेर खानेपानी ल्याउने बारे अहिलेसम्म कुनै योजना बनेको देखिदैन ।









