
डाक्टर तरुण पौडेल चिकित्सा कोषबाट स्वास्थ्य तथा सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गर्ने चार व्यक्तिलाई पुरस्कृत गरिएको छ ।
धौलागिरी अञ्चल अस्पतालका प्रमुख भएर १६ वर्ष बिताएका डाक्टर पौडेलले स्वास्थ्यकर्मीलाई कार्यक्षेत्रमा थप प्रोत्साहित गर्ने अभिप्रायले स्थापना गरेको कोषबाट यस वर्ष तीन स्वास्थ्यकर्मी र एकजना सामाजिक क्षेत्रमा काम गर्नेलाई सम्मान गरिएको छ।
सातौ पुरस्कारबाट निजामती अस्पताल काठमाण्डौका कार्यकारी निर्देशक डाक्टर विधाननिधी पौडेल, मुस्ताङको घरपझोङ गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी कर्ण बहादुर थकाली, धौलागिरि अस्पताल बागलुङमा कार्यरत नर्सिङ अधिकृत देवी भट्टराई र म्याग्दीको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।
सम्मानित व्यक्तित्वहरुलाई समाजसेवी देव बहादुर श्रेष्ठ र कोषका संस्थापक संरक्षक डाक्टर तरुण पौडेल र कोषका अध्यक्ष काजी रोशनले जनही नगद रु १५ हजार सहित सम्मान पत्र र दोशल्ला ओडाएर सम्मान गरेका थिए । २०७० सालमा स्थापना गरिएको कोषको रकम ८ लाख पुगेको छ ।
पुरस्कार वितरण समारोहमा बोल्दै समाजसेवी देव बहादुर श्रेष्ठले स्वास्थ्यकर्मीको मनोबल उच्च राख्नकालागि तरुण पौडेल चिकित्सा कोष महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
सो अवसरमा कोषका सस्थापक संरक्षक डाक्टर तरुण पौडेल,धौलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण पौडेल, पुरस्कृत व्याक्तित्व डाक्टर विधाननिधी पौडेल र वीरेन्द्रमान शाक्य लगायतले मन्तव्य व्यक्त गरेका थिए । डाक्टर तरुण पौडेल चिकित्सा कोषका बारे कोषका सदस्य शकुन्तला शर्मा र सम्मानित व्यक्तित्वको बारेमा सदस्य श्याम श्रेष्ठले जानकारी दिएका थिए । धौलागिरि अस्पतालका तत्कालिन मेडिकल सुपरिटेण्डेन डाक्टर तरुण पौडेलले स्थापना गर्नु भएको कोषले स्वास्थ्य क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको छ ।
कार्यक्रम डाक्टर तरुण पौडेल चिकित्सा कोषका अध्यक्ष काजि रोषनको अध्यक्षता, सदस्य केवीराना मगरको स्वागत र कोषका सदस्य राम प्रसाद खनालको संचालनमा सम्पन्न भएको थियो ।













