कराते का ३ सहित बाग्लुङ का१८ जना खेलाडीहरु पुरस्कृत हुँदै

-


     हिडन खबर    
     असार २९ गते २०८१ मा प्रकाशित


प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेशका विभिन्न खेलका बिजेता खेलाडीहरुलाई नगद सहित पुरस्कृत गर्ने भएको छ ।
आर्थिक वर्ष २०८०÷०८१ मा सम्पन्न राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा बिजेता खेलाडीहरुलाई नगद सहित पुरस्कृत गर्न लागेको हो ।

बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, राष्ट्रपति कप र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका बिजेता खेलाडीहरुलाई पुरस्कृत गर्न लागिएको परिषदका अधिकृत तोपलाल भुसालले बताए ।

सम्पन्न बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, राष्ट्रपति कप र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता गरी तीन विभिन्न राष्ट्रिय प्रतियोगितामा कुल १ सय ७५ जना खेलाडीहरुलाई पुरस्कृत गर्न लागिएको अधिकृत भुसालले बताए । पुरस्कृत हुने मध्ये ४९ जना स्वर्ण पदक, रजततर्फ ८९ र कास्यतर्फ ३७ रना रहेका छन् ।

तीन विभिन्न प्रतियोगितामा टिम गेम्स र इन्डिभिजुल गेम्सतर्फ गरी गण्डकीले कुल १९ स्वर्ण, ३१ रजत र २९ काश्य पदक गरी कुल ७९ पदक जितेको परिषदले जनाएको छ ।

बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, राष्ट्रपति कप र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा कास्की नं १ मा छ । कास्कीका कुल ५५ जना खेलाडी पुरस्कृत हुनेछन् ।

त्यसै गरी तनहुँ र नवलपुरका समान २२–२२ जना खेलाडी पुरस्कृत हुने छन् भने बाग्लुङ र स्याङजाका १८–१८ जना, म्याग्दीका १६, पर्वतका १०, लमजुङका ९ र गोरखाका ५ जना खेलाडी नगदसहित पुरस्कृत हुनेछन् ।

यहि असार २९ गते पोखरामा आयोजना हुने एक कार्यक्रमका बीच खेलाडीहरुलाई सम्मान गर्न लागिएको परिषदका सदस्य सचिब श्रीधर शर्माले जानकारी दिए । पोखरा रंगशालामा आयोजना हुने कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री एवं परिषदका संरक्षक सुरेन्द्रराज पाण्डेले नगद सहित सम्मान गर्ने कार्यक्रम रहेको सदस्य सचिब शर्माले जानकारी दिए ।