
चैते दशैँ मेला नजिकिए सँगै नेपाल कै प्रसिद्ध धार्मिक गन्तव्य कालीका भगवती मन्दिर परिसरमा सरसफाइ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, नेपाली सेनाकाे श्रीमन् गणकाे सक्रियतामा शुक्रबार बिहान कालीका भगवती मन्दिरकाे परिसरमा सरसफाइ गरिएको हो ।

नेपाली हिन्दु धर्मावलम्बीले मनाउने चैते दशैकाे अवधिमा नेपाल कै प्रसिद्ध शक्तिपिठ कालीका भगवती मन्दिरमा झण्डै ६ लाख भक्तजन पुजा अर्चना र दर्शनकाे लागि आउने कारणले सरसफाइ गरिएको कालीका भगवती गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

बिश्वब्यापी महामारीको रूपमा फैलिएको काेराेना भाइरस काेभिड १९ का कारणले झण्डै दुई बर्ष देखि ठप्प रहेको मेला महाेत्सव काेराेना कम हुदै गएपछि कालीका भगवती गुठी ब्यवस्थापन समितिले चैत २४ गतेदेखि २८ गतेसम्म चैत्राष्टमी मेलाको आयोजना गरेको छ ।
मेला भब्य र सभ्य रूपमा सम्पन्न गर्न राष्ट्रिय दाेहाेरी गीत प्रतियोगिता, राष्ट्रिय लाेक भजन प्रतियोगिता, राष्ट्रिय पुरूष भलिबल प्रतियोगिता, छेलाे प्रतियोगिता आयोजना गरिएको कालीका भगवती गुठी ब्यबस्थापन समितिका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले बताउनुभयो ।
५ दिनसम्म चल्ने मेलामा चर्चित राष्ट्रिय कलाकारकाे गीत र नृत्य प्रर्दशनी रहने छ ।

काेराेनाकाे जाेखिम अझै पनि कम नभएको कारणले मन्दिरमा परिसर वरिपरि काेराेना भाइरस सम्बन्धि जनचेतनामूलक नारा लेखिएका हाेर्डिङ बाेर्ड राखिएका छन् ।
मन्दिरमा काठमाडौ, पाेखरा, बुटवल, नारायणगढ नेपालगन्ज लगायत देशभरका धार्मिक भक्तजन चैत्राष्टमीकाे अवधिमा पुजा अर्चना गर्न आउने गर्छन् ।कालीका भगवती माता सँग गरेको भाकल पूरा हुने बिश्वासका कारण यसको महिमा झनै देश विदेशमा समेत बढेर गएको छ ।












