पेस्तोल सहित पक्राउ परेका युवक सार्वजनिक

-


     राजेशचन्द्र राजभण्डारी    
     चैत्र १७ गते २०७८ मा प्रकाशित


पेस्तोल सहित पक्राउ परेका एक युवालाई प्रहरी पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले ४० वर्षीय श्यामबहादुर रेश्मी लाई पेस्तोलसहित बिहीबार सार्वजनिक गरेको हो ।

रेश्मी संग हतियार भएको सुराकीको आधारमा प्रहरी निरीक्षक गुरुप्रसाद न्यौपाने कमाण्डमा ५ जना सादा पोशाकका प्रहरीको टोलीले बुधबार बिहान साढे ९ बजे पक्राउ गरेको थियो ।

बागलुङ जिल्ला बडीगाड गाउँपालिका–५ ग्वालीचौर बस्ने रेश्मीका साथमा रहेको मेड ईन यूएसए लेखिएको पेस्तोल, त्यसको म्यागेजिन र ४ राउण्ड गोली पनि बरामद गरेको थियो । रेश्मी ४ वर्ष अगाडि हतियार केशमा जेलमा बसी छुटेका थिए ।

उनी गुण्डागर्दीमा संलग्न हुन सक्ने भएकोले प्रहरीले निग्रानी गर्दै आएको थियो । रेश्मीको साथमा पेस्तोल र गोलीहरू कहाँबाट आयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अभियुक्त रेश्मीले हतियार बेनीमा केही बर्ष अघि भेटाएको पत्रकार सम्मेलनमा बताए । बागलुङ जिल्लामा प्रहरीको सक्रियता बढेसंगै अपराधीक घटना मा संलग्न ब्यक्तिहरू धमाधम पक्राउ पर्दै जान थालेको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङले केही दिनअघि गाउँघरमा ब्यक्तिले राखेका लाइसेन्स सहितका हतियार निर्वाचन अबधिभर प्रहरी कार्यालयमा ल्याएर बुझाउन अनुरोध गरेको भएपनि अहिलेसम्म एकजनाले पनि लाइसेन्स भएको हतियार भने नबुझाएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी इकवाल हवारीले बताउनुभयो ।