पन्चकाेटमा भएको गडबडी भएको भन्दै भ्रष्टाचार बिरूद्व नागरिक अभियान अख्तियार जाने ?

-


     हिडन खबर    
     असार ११ गते २०८१ मा प्रकाशित


बागलुङ / भ्रष्टाचार बिरूद्व नागरिक संस्था बागलुङले पन्चकाेटकाे अहिले सम्मको हिसाबकिताब पारदर्शी नभएको भन्दै छानबिन गर्न माग गरेको छ ।

भ्रष्टाचार बिरूद्व नागरिक संस्थाका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठकाे अध्यक्षतामा भएको बैठकले बागलुङ नगरपालिका वडा नम्बर ६ सर्वसिद्विधाम पन्चकाेटमा यहीँ फागुन ९ गतेदेखि २३ गतेसम्म भएको अनन्त श्री ब्राह्मण्डीय महायज्ञमा अनियमितता भएको भन्ने व्यापक जन गुनासो आएको कारण छानबिनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पाेखरामा लिखत रूपमा उजुरी गर्ने निर्णय भएको छ ।

झण्डै ११ बर्ष देखि पन्चकाेट निर्माणकार्यमा अनियमितता भएको भन्दै छानबिन गर्न जनस्तरबाट समेत आवाज उठेको कारण भ्रष्टाचार बिरूद्व नागरिक सचेतनाकाे लागि गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालय लगायतमा समेत जाने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

पन्चकाेटमा धार्मिक पर्यटकीय केन्द्र बनाउने भन्दै स्वामी कमलनयनाचार्यकाे अगुवाइमा करोडौं रूपैयाँ सहयोग संकलन गरेपनि त्यसको हिसाबकिताब पारदर्शी नभएको कुरा राष्ट्रिय संचार माध्यमले पटकपटक उठाउने गरेको छ ।