पेस्तोल सहित एक युवा पक्राउ

-


     हिडन खबर    
     चैत्र १६ गते २०७८ मा प्रकाशित


बागलुङमा एक जना पेस्तोल सहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्लाको बडिगाड गाउँपालिका बाट ४० वर्षीय श्याम बहादुर रेश्मीलाई पेस्तोल सहित पक्राउ गरेको छ ।

प्रहरी निरीक्षक गुरुप्रसाद न्यौपाने सहित ५ जना सादा पोशाक खटिएका प्रहरी टोलीले बुधबार बिहान साढे ९ बजे रेश्मीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिनुभयाे ।

बडीगाड गाउँपालिका–५ ग्वालीचौर बस्ने रेग्मीलाई पक्राउ गरिएको ज्ञवालीले बताउनुभयाे । रेश्मीको साथमा रहेको मेड ईन यूएसए लेखिएको पेस्तोल, त्यसको म्यागेजिन र ४ राउण्ड गोली पनि बरामद गरेको छ ।

रेश्मी विगत ४ वर्ष अगाडि हतियार केशमा जेलमा बसी छुटेका थिए । उनी गुण्डागर्दीमा संलग्न हुन सक्ने भएकोले प्रहरीले निगरानी गर्दै आएको थियो ।

रेश्मीको साथमा पेस्तोल र गोलीहरू कहाँबाट आयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बागलुङ जिल्लामा प्रहरीकाे सक्रियता बढेसंगै अपराधीक घटनामा संलग्न ब्यक्तिहरू धमाधम पक्राउ पर्दै जान थालेको छ ।
स्मरण रहोस् जिल्ला प्रशासन कार्यालय बागलुङले केही दिनअघि जिल्लाका नागरिकहरुलाई आफुसँग रहेका लाइसेन्स सहितका हतियार निर्वाचन अबधिभर प्रहरी कार्यालयमा ल्याएर बुझाउन अनुरोध गरेको थियो ।