
बागलुङ बजारमाको एक आयुर्वेदीक फर्मा संचालक पक्राउ परेका छन् । बागलुङ नगरपालिका वडा नम्बर २ उच्च अदालत रोडका विजया आयुर्वेद फर्मा संचालक रमाकान्त सापकोटा पक्राउ परेका हुन ।
रक्तचाप परिक्षणको लागि फर्मामा आएका एक विरामीलाई उपचारको वहानमा यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । सोमबार साँझ रक्तचाप परीक्षण गर्न आएका एक महिलालाई यौनजन्य हिंसा गर्न खोजेपछि महिलाले तत्काल प्रहरीमा उजुरी गरेपछि सापकोटा पक्राउ परेका हुन् ।
सोमवार साँझ पक्राउ परेका सापकोटालाई पीडित महिलाको जाहेरीका आधारमा मंगलबार जिल्ला सहरकारी वकिल कार्यलयमा म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
सापकोटाले यस अघि पनि फर्मामा उपचार गर्न आउने महिलालाई यौन दुव्र्यवहार गर्ने गरेका पाइएको छ ।सापकोटा पक्राउ परेसँगै पीडित बनेका महिलाहरुले सापकोटाले औषधालयमा उपचारको बहानामा महिलाहरुलाई अभद्र व्यवहार गर्ने गरेका खुल्न आएको छ ।
धन्वन्तरि स्वास्थ्य सहकारी संस्था लिमिटेड बाग्लुङका अध्यक्ष समेत रहेका सापकोटा पक्राउ परेपछि यस अघि उनीबाट यौन दुव्र्यवहारमा परेका महिलाले आफूहरु पनि सापकोटाद्धारा हिंसामा परेको हिडन खवरलाई बताए ।
केही महिना अघि सापकोटाको पसलमा पुग्दा आफूलाई अभद्र व्यवहार गरेको एक महिलाले गुनासो गरिन । सापकोटाले उपचारको लागि आउने महिला दिदीबहिनी माथि यौन दुर्व्यवहार गर्ने गरेको कुरा अहिलेसम्म लुकाउदै आउन बाध्य भएकोमा सोमवार पीडित बनेकी महिलाले प्रहरीमा उजुरी गरेकोले अबका दिनमा महिलाहरु उनको हिंसाबाट बच्न सहयोग पुग्ने ती महिलाले बताइन् । विजया आयुर्वेद फर्मामा विना इजाजत क्लिनिक समेत संचालन गरेका छन् ।
विरामी चेकजाँच गर्ने क्लिनिक संचालन गर्न सरकारबाट अनुमति लिनुपर्ने व्यवस्था भए पनि औषधी बिक्री गर्ने पसलको आडमा उनले अवैध क्लिनिक चलाउदै आएका छन् ।









