१९ औं जातीय भेद्भाव तथा छुवाछुत उन्मुलन दिवस मनाइयो

-


     हिडन खबर    
     जेठ २४ गते २०८१ मा प्रकाशित


बागलुङ १९ औं जातीय भेद्भाव तथा छुवाछुत उन्मुलन दिवस निसीखोलामा बृहत् सभा एवं साँस्कृतिक कार्यक्रम सहित सोमबार भव्य रुपमा मनाइएको छ ।

दलित सञ्जाल निसीखोलाको आयोजना र निसीखोला गाउँपालिकाको आर्थिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा पूर्व मन्त्री एवं तत्कालीन संविधानसभा सदस्य समेत रहनु भएका बिसेन्द्र पासवानकोप्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पासवानले जात व्यवस्था अन्त्यका लागि सम्पूर्ण दलितहरु सचेत भएर निर्णायक आन्दोलनमा अगाडि बढ्नु पर्ने बताउनु भयो ।

उहाँले युगौंदेखिको जातीय विभेद र छुवाछुतलाई अन्त्य गर्नको लागि दलितहरुको सशक्त आन्दोलनले मात्र सार्थकता पाउने बताउनु भयो ।

थप बोल्दै उहाँले ब्रम्हाणवादी राज्यसत्ताले दलित समुदायको अधिकारलाई बन्चित गरेको र आधुनिक युगमा आइपुग्दा समेत जातीय विभेद् अन्त्य हुन नसक्नु अत्यन्तै दुःखद् भएको बताउनु भयो ।

साथै उहाँले आफ्नो अधिकार प्राप्तिको लागि सम्पूर्ण दलितहरु एक भएर उठ्नुपर्ने बताउनु भयो । त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथि एवं निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम बहादुर घर्तीले उक्त कार्यक्रममा बोल्दै जातीय विभेद् तथा छुवाछुत दण्डनीय सामाजिक अपराध भएकाले यसलाई सबै मिलेर अन्त्य गर्नुपर्ने बताउनु भयो ।

उहाँले थप बोल्दै निसीखोला गाउँपालिकाले सार्वजनिक भोज भतेर लगायतका कार्यहरुमा दुई ओटा चुल्हो अन्त्य गर्ने र पालिकाभित्र कुनै पनि जातीय विभेद कसैबाट भएमा कडा कार्वाही गर्ने विषयलाई गत वर्षदेखि नै कार्यान्वयनमा अगाडि बढाएको बताउनु भयो ।

त्यसैगरी अर्का विशिष्ट अतिथि एवं दलित अभियानता डा.मित्र परियारले कार्यक्रममा बोल्दै दलीय राजनीतिबाट दलित आन्दोलनलाई अलग गरी सशक्त र प्रविधियुक्त दलित आन्दोलनलाई अगाडि बढाउन सकेमात्र जात व्यवस्था अन्त्य गर्न सकिने बताउनु भयो ।

उहाँले राज्य संरचना नै विभेदकारी भएकाले यसको पूर्ण अन्त्य गर्नका लागि दलितहरु जीवन मरणको लडाई लड्नुको अब कुनै विकल्प नरहेको बताउनु भयो ।

त्यसैगरी कार्यक्रमका अर्का विशिष्ट अतिथि दलित अभियानता एवं दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले कार्यक्रममा बोल्दै जात व्यवस्था अन्त्य र दलित मुक्तिका लागि देशभरका सम्पूर्ण दलितहरु चुप लागेर हातमा दही जमाएर नबस्ने बताउनु भयो । उहाँले युगौंदेखिको विभेद र असमानताको अन्त्य गर्न अब सचेत दलितहरु एक भएर उठ्ने बताउनु भयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै निसीखोला दलित संजालका अध्यक्ष रोशन विश्वकर्माले जात व्यवस्थाले दलितहरुलाई मानव भएर सम्मानपूर्वक बाँच्न समेत नदिएकाले यसको जरो उखेल्न दलितहरु एक भएर क्रान्तिमा होमिनुपर्ने र ब्राम्हाणवादको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

उहाँले कार्यक्रमलाई सफल पार्न सहयोग पुराउने सबैप्रति धन्यवाद समेत व्यक्त गर्नुभएको थियो । त्यसैगरी कार्यक्रममा दलित अभियानता एवं निसीखोला गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष कुबिर विश्वकर्मा, दलित अभियानत एवं नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति सदस्य लोकेन्द्र सुनार, दलित अभियानता अशोक कुमार वि.क., वडा नं. २ का वडाअध्यक्ष चन्द्रसिंह रामजाली, ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार वि.क., नेपाल मगर संघ निसीखोलाका प्रतिनिधि हिरा बहादुर पुन, दलित संजालका सल्लाहकार ईद बहादु रसाइली, थान बहादुर नेपाली, हिरा बहादुर वि.क., अनिल वि.क., संजय सुनार, दलित संजाल राजकुतका अध्यक्ष शिव वि.क. लगायतले मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले छुवाछुत तथा जातीय विभेद राष्ट्रकै कलङ्क भएकाले यसलाई दलितहरुको मात्र समस्याको रुपमा नलिई राष्ट्रिय समस्यको रुपमा लिएर राज्यले यसको अन्त्य गर्न दायित्व लिनुपर्ने, राज्यले विभिन्न समयमा संविधान, नीति, नियम र ऐन कानुनहरु बनाएर जातीय भेदभाव तथा छुवाछुतलाई कानुनी रुपमा अन्त्य गरेको थुप्रै समय बितिसक्दा समेत यसको व्यवहारमा अन्त्य हुन नसकेको, दलित समुदायमाथि हुने अन्याय, अत्याचार र विभेदहरु अझै यथावत रहेको, धर्म, संस्कृति र संस्कारको नाममा विभेदहरु अझै उस्तै रहेका, दलितहरुले न्याय, स्वतन्त्रता र समानता पाउन नसकेको लगायतका विषयमा बोलेका थिए । साथै जातीय विभेद अन्त्य गर्नका लागि दलितहरु स्वयं सचेत र सशक्त भएर दलित आन्दोलनलाई अगाडि बढाउनुपर्ने लगायतका विषयहरुमा तर्क राखेका थिए । कार्यक्रममा निसीखोला गाउँपालिका जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, छिमेकी गाउँपालिकाका अगुवा दलित लगायत दलित अधिकारकर्मी, बुद्धिजीवी, शिक्षक, पत्रकार, समाजसेवा साथै स्थानीयवासीको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अवसरमा चर्तित गायक एस कुमार, लोक गायक किरण बि.सी.को बेजोड प्रस्तुति रहेको थियो भने स्थानीय कलाकार तथा दलित महिला समूहहरुको समेत प्रस्तुति रहेको थियो । निसीखोला दलित सञ्जालका अध्यक्ष रोशन विश्वकर्माको अध्यक्षता रहेको उक्त कार्यक्रममा बिमला पटेलको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमको संचालन झम श्रीपालीले गर्नुभएको थियो ।