काठेखोलामा पौडी खेल्ने क्रममा एक बालक घाइते

- घाइतेको बागलुङमा उपचार हुन नसकेपछि पोखरा रिफर

-


     हिडन खबर    
     चैत्र १२ गते २०७८ मा प्रकाशित


काठेखोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालक घाइते भएका छन् ।

पर्वतको कुश्मा नगरपालिका-१३, ठुलिपोखरी घर भई बागलुङ नगरपालिका वडा नं. १ रामरेखा बस्ने कृष्ण बहादुर विकको १६ वर्षीय छोरा अभिषेक विकको शनिबार बागलुङ नगरपालिका-३, काठेखोलामा पौडी खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका हुन् ।

घाइते विकको धौलागिरी अस्पतालमा उपचार हुन नसकेपछि पोखरा रिफर गरिएको धौलागिरी अस्पतालका सुचना अधिकारी अञ्जना पौडेलले बताउनुभयो ।

घाइते बालकको छातीमा असर देखिएको र एमआरआई गर्नुपर्ने चिकित्सकलाई उद्रित गर्दै पौडेलले हिडन खबरलाई बताउनुभयो ।

शनिबार बिहान ११ बजे साथीहरू सँगै काठेखोलामा गएको र पौडी खेल्ने क्रममा ढुङ्गामा ठोकिएर घाइते भएपछि साथीहरूले बोकेर देउराली चोक सम्म ल्याएको र अटोरेक्सामा अस्पताल लिएको साथीहरूलाई उद्रित गर्दै अस्पतालका सुचना अधिकारी पौडेलले हिडन खबरलाई बताउनुभयो ।

घाइते विक बागलुङको चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्ययनरत छन् ।

बिशेषगरी बिद्यालय उमेर समुहका बालबालिकाहरु गर्मि मौसम सुरु भएसँगै अभिभावकलाई जानकारी नै नगरि आफूखुसी पौडी खेल्न जाने क्रमबढ्ने भएकाले यसतर्फ सबै सतर्क हुनुपर्ने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले बताउनुभयो ।