प्रथम आदर्श इन्टर एसईई कप फुटबल प्रतियोगिता बागलुङमा हुने

-


     हिडन खबर    
     जेठ १० गते २०८१ मा प्रकाशित


बागलुङ /आदर्श विद्यामन्दिर स्पोर्ट्स क्लबको आयोजना तथा आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयको सह-आयोजनामा प्रथम आदर्श इन्टर एसईई कप फुटबल प्रतियोगिता हुने भएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर १ रामरेखा स्थित बाङ्गेचौर खेलमैदानमा जेठ १३ देखि १६ गतेसम्म प्रथम आदर्श कप इन्टर एसईई फुटबल प्रतियोगिता हुने आदर्श विद्यामन्दिर स्पोर्ट्स क्लबका अध्यक्ष राजेश के.सीले बताउनुभयो ।

प्रतियोगिताको ट्रफी अनावरण तथा टाईसेट प्रकाशन कार्यक्रममा जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष जय राजभण्डारी, नेशनल प्यावसन बागलुङका अध्यक्ष नेत्र प्रसाद न्यौपाने, नगर अध्यक्ष चन्द्र बहादुर क्षेत्री लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

‘शरीर र मस्तिषकलाई स्वस्थ राख्न खेलकुद’ भन्ने नाराका साथ आदर्श विद्यामन्दिर स्पोर्टस् क्लबले कक्षा १० को परिक्षा सकेर विदाको समयमा उक्त विद्यार्थीलाई तन्दुरूस्त र स्वस्थ्य बनाउन उक्त प्रतियोगितको आयोजना गरेको आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयका प्रधानध्यापक भुपेन्द्र के.सीले बताउनुभयो ।

आइतबारबाट शुरू हुने अन्तर विद्यालय एसईई कप फुटबल प्रतियोगितामा १५ टिमको सहभागिता रहेने आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयका शिक्षक रोशन क्षेत्रीले बताउनुभयो ।

प्रतियोगिता विजेताले नगद ६६ हजार ६६६ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र र उपविजेताले ३३ हजार ३३३ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आदर्श स्पोर्ट्स क्लबका प्रशिक्षक अनुप पाण्डेले बताउनुभयो ।

त्यस्तै सेमिफाइनल प्रवेश गर्ने दुई टोलीलाई जनही ११ हजार १११ प्रदान गरिने र प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विधागत पुरस्कारले पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ ।

पत्रकार सम्मेलन आदर्श विद्यामन्दिर स्पोर्ट्स क्लबका अध्यक्ष राजेश के.सीको अध्यक्षता, विद्यालयका शिक्षक धन बहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।