
बागलुङ। बागलुङको काठेखोला गाउँपालिका-वडा नम्बर १ खहरे घर भएकी दिलिसा (दिक्षा) भण्डारीको शवको फरेन्सिक मेडिसिन विज्ञ झिकाएर शनिबार पोष्टमार्टम गरिएको छ ।
१८ वर्षीय दिलिसाको संस्कापद मृत्यु भएको देखिएकोले पोखराको मणिपाल शिक्षण अस्पतालबाट आएका दुई जना फरेन्सिक विशेषज्ञ टोली झिकाएर धौलागिरि अस्पतालमा पोष्टमार्टम गरिएको हो ।
दुई जना विशेषज्ञ चिकित्सकले पोष्टमार्टम गरेको र उनीहरु आजै पोखरा फर्केको अस्पतालले जनाएको छ । भण्डारीको शव अझै माइती पक्षले बुझेको छैन् ।
पोष्टमार्टमा संलग्न चिकित्सकले पोष्टमार्टम रिपोर्ट आजै प्रहरीलाई दिएको धौलागिरि अस्पताल मेडिकल सुपरिटेण्डेन्ट डा. रविरञ्जन प्रधानले जानकारी दिनुभयो ।
शव पोष्टमार्टमको लागि पोखरा लाने वा धौलागिरि अस्पतालमा गर्ने विषयमा परिवार पक्षबीच सहमति हुन नसकेपछि पोष्टमार्टममा ढिलाई भएको थियो ।
हिजो जिल्ला प्रशासन कार्यालय बागलुङमा भएको छलफलमा मृत्यु संस्कापद देखिएकोले गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट फरेन्सिक मेडिसिन विज्ञ झिकाएर पोष्टमार्टम गर्ने सहमति भए अनुसार मन्त्रालयले मणिपाल शिक्षण अस्पतालका फोरेन्सिक विशेषज्ञ टोली पठाएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले बताउनुभयाे ।
भण्डारीको हत्या भएको दावी गर्दै माइती पक्षले निरन्तर सडक आन्दोलन गरिरहेका छन् भने भण्डारीका श्रीमानले दिक्षाले आत्महत्या गरेको प्रहरीलाई बताएका छन् । उनको शव ४ दिनदेखि धौलागिरि अस्पतालमा राखिएको छ ।
बागलुङको काठेखोला गाँउपालिका-१ खहरेका सुशान्त थापाकी श्रीमती भण्डारीले आफ्नै घरको दोस्रो तलामा काठको बलोमा सलले घाँटीमा पासो लगाई झुण्डीएको अवस्थामा उनका श्रीमानले देखेपछि पासो काटी उपचारको लागि धौवलागिरि अस्पताल बागलुङ ल्याइएको थापाले प्रहरीलाई बताएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
मृतकका श्रीमान् १८ वर्षीया थापा र सासु ३६ वर्षीया उजेली थापालाई बुधबार जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भण्डारीको हत्या भएको दावी गर्दै माइती पक्षले न्याय माग्दै धौलागिरि अस्पताल, जिल्ला प्रशासन कार्यालय र बजारका मुख्य मुख्य चोकमा विरोधका कार्यक्रम गरेपछि जिल्ला प्रहरी कार्यालयले ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ ।
पोस्टमार्टमले मृत्यु पछि हुने अनुसन्धान प्रक्रियालाई बुझाउँछ। पोष्टमार्टम भनेको मृतकको शवको मेडिकल जाँच हो जसको लागि उनीहरुको मृत्यु कसरी भयो भन्ने पत्ता लगाउन मद्दत गर्दछ ।
आकस्मिक र अप्राकृतिक मृत्युको अनुसन्धानको लागि जिम्मेवार कानुनी अधिकारीहरूको अनुरोधमा पोस्टमार्टम गरिन्छ र यसको कानुनी अख्तियार नेपाल प्रहरीले पाएका छन् ।
यदि कसैले कसैको हत्या गर्छ भने त्यस अवस्थामा पनि शवको पोस्टमार्टम हुन्छ । तर, कुनै पनि मृतकको पोस्टमार्टम गर्नुअघि उसको परिवारको अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ ।










