
बैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा हुने लगभग निश्चित जस्तै भएपछि चुनावी गतिविधि ह्वात्तै बढेर गइरहेको छ । बागलुङ जिल्लाको ४ वटा नगरपालिका र ६ वटा गाउँपालिकामा राजनीति गठबन्धन गरि निर्वाचनमा के कसरी जान सकिन्छ भन्ने हिसाबले जिल्लामा रहेका राजनीति पार्टी संग वार्ता गर्न वार्ता टोलि गठन भइरहेको छ ।
यतिबेला चुनावमा वार्ता गर्न गठित टोलीका नेताहरू नै धमाधम गाउँ तथा नगरप्रमुख उमेदवारको आकांक्षी भएको खबर पनि आइरहेको छ ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले स्थानीय तहमा वार्ता गर्न गठन गरेको वार्ता टोलीका नेता ज्ञामनाथ गैरे अनिल र फमलाल निउरे गलकोट नगरपालिकाको नगर प्रमुख पदको आकांक्षी बनेका छन् ।
यस्तै वार्ता टोलीका अर्का सदस्य प्रकाश घर्ती ताराखोला गाउँ पालिकाको अध्यक्षका आकांक्षी भएको खबर सार्वजनिक भइसकेको छ । यस्तै वार्ता टोलीका सदस्य राजीव घिमिरे वडीगाड गाउँ पालिकाको अध्यक्षका आकांक्षी रहेका छन् ।
माओवादी केन्द्रका जिल्ला इन्चार्ज वलावती शर्माको संयोजकत्वमा ५ सदस्य वार्ता टोली गठन गरेको थियो । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बागलुङ जिल्ला समन्वय समितिका अध्यक्ष ज्ञामनाथ गैरे अनिल यसपटक हुने स्थानीय तहको निर्वाचन लागि पार्टीले गठन गरेको वार्ता टोलीका सदस्य भएपनि गलकोट नगरपालिकाको नगर प्रमुख पदमा आकांक्षी हुनुहुन्छ ।
वार्ता टोलीको सदस्य भए पनि स्थानीय तहमा आकांक्षी बन्दा केही फरक नपर्ने नेता गैरेले बताउनुभयो । जिल्लाको १० वटा स्थानीय तह र ८५ वटा वडामा तालअन्य दलसँग तालमेल गर्न समेत वार्ता टोलीले भुमिका खेल्ने समन्वय समितिका गैरेले बताउनुभयो ।
स्थानीय तहको निर्वाचनमा चुनावी गठबन्धन गरेर जानका लागि वार्ता टोली गठन गरेकोमा आफू वार्ता टोलीको सदस्य रहेकोले यसपटक हुने निर्वाचनमम माओवादी केन्द्रको तर्फबाट वडीगाड गाउँपालिका प्रमुखमा आकांक्षी रहेको माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य राजीव घिमिरे बताउनु भयो । आफू आकांक्षी बनेपनि यसले वार्तामा कुनै फरक नपार्ने घिमिरेले बताउनुभयो ।
एमाले अध्यक्ष रहेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक संसद भंग गरेको भन्दै प्रतिगमन बिरूद्व आन्दोलन गर्दै नयाँ गठबन्धन बनाएको नेपाली कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी पार्टी बिच स्थानीय तहको निर्वाचनमा चुनावी गठबन्धन गरेर जाने केन्द्रीय स्तरमा ठोस सहमति अहिलेसम्म हुन नसकेकोले जिल्लामा गठबन्धन गर्नका लागि पटकपटक बैठक भने चलिरहेको छ ।









