बागलुङका ३ स्थानमा नयाँ प्रहरी चौकी स्थापना

- बाटाकाचौरमा भाडामा रहेको चौकि आफ्नै भवनमा स्थानान्तरण

-


     हिडन खबर    
     चैत्र ८ गते २०७८ मा प्रकाशित


नेपाल सरकारको मन्त्रिपरिषद निर्णय अनुसार जिल्ला प्रहरी कार्यालय बागलुङले चार ठाउँमा प्रहरी चौकीहरू स्थापना गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक दयानिधि ज्ञवालीको विशेष पहल एवम् समन्वयमा सरकारले निर्णय गरेका स्थानमा प्रहरी चौकीहरू स्थापना गरिएको हो ।

प्रहरी प्रमुख ज्ञवालीले स्थानीय तहको निर्वाचनको सुरक्षालाई समेत ध्यानमा राखेर चौकीहरू स्थापना गरिएको बताउनुभयो ।
साधन स्रोतको कम भएपनि निर्वाचनलाई शान्तिपूर्ण बनाउने दायित्व प्रहरी संगठनको भएकोले प्रहरी चौकी स्थापना भएपछि जनतालाई शान्ति सुरक्षाको अनुभूति हुने प्रमुख ज्ञवालीको भनाई रहेको छ ।
स्थानीय जनताको मागअनुसार नेपाल सरकारको मन्त्रिपरिषदको २०७६ असोज ७ गतेको निर्णयले बागलुङ जिल्लाका चार स्थानमा प्रहरी चौकी राख्ने निर्णय गरेको थियो । बागलुङमा आधार दर्जन प्रहरी प्रमुख फेरिदा समेत ती चौकीहरू स्थापना हुन सकेका थिएनन् । एसपी ज्ञवालीले कमाण्ड सम्हालेको एक महिना नबित्दै सरकारको निर्णय अनुसार थप गरिएका चौकीहरू स्थापना गरिएको हो ।

सरकारको निर्णयअनुसार बागलुङ जिल्लाको दक्षिण बरेङ गाउँपालिका–२ सुडलामा प्रहरी चौकी स्थापना भएको छ । अर्को व्यवस्थापन नभएसम्म सोही स्थानमा रहेको सुडला खानेपानीको भवनमा चौकी रहनेछ ।
सुडला चौकीको बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मा द्वारा संयुक्त रुपमा उद्घाटन गरिएको हो ।

त्यस्तै जिल्ला ताराखोला गाउँपालिका २ भातखाने डाँडामा प्रहरी चौकी स्थापना गरिएको छ । प्रहरीको चौकीको आफ्नै भवन नभएकोले स्थानीय खरबहादुर रोकाको घरमा स्थापना गरेको चौकीको बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती मगरले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।

त्यस्तै जिल्लाको पश्चिम निसीखोला गाउँपालिका–२ जुग्जाखोलामा प्रहरी चौकी स्थापना भएको छ । जुग्जाखोला बजारमा रहेको स्थानीय सनराईज युवा क्लबको भवनमा स्थापना गरेको चौकीको बागलुङका प्रमुख जिल्ला अधिकारी ढकाल र निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।

त्यस्तै बरेङ गाउँपालिकाको बाटाकाचौरमा भाडामा रहेको चौकीलाई आफ्नै भवनमा सारिएको छ ।

स्थानीय जनताको मागअनुसार प्रहरी चौकीहरू स्थापना गरिएको बागलुङका प्रमुख जिल्ला अधिकारी ढकालले हिडन खबरलाई बताउनुभयो ।
प्रहरी जनतासँग सम्पर्कमा रहेर शान्ति सुरक्षाको अनुभूति गराउने र सबैको प्रयास एवं सहयोगमा मात्रै समाजलाई सुरक्षित राख्न सकिने ढकालको भनाइ रहेको छ ।