
बागलुङ-बागलुङको बलेवाका आगलागी पीडितलाई बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले राहत प्रदान गरेको छ ।
घरगोठसँगै खाद्यान्न र लत्ताकपडा जलेर बिचल्लीमा परेका बागलुङ नगरपालिका वडा नं. १२ डाँडाखेतका दुई परिवारका लागि गुठीले खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको कालीका गुठीले जनाएको छ ।
गुठीले २० पाथी चामल, २० थान कम्मल र केही कपडा सहयोग गरेको कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।
तत्कालै खाने र लाउने समस्या हुने भएकाले आपतकालिन अवस्था टार्नका लागि खाद्यान्न र लत्ताकपडा सहयोग गरिएको अध्यक्ष खड्काले बताए ।
विपतमा परेका बेला सहयोग गर्नु धार्मिक संस्थाको कतव्य भएको उनको भनाई थियो । बुधबार भएको आगलागीका कारण डाँडाखेतका ददीराम पौडेल र यदुनाथ पौडेलको घरगोठ जल्दा पशुचौपाय मरेका थिए । घरगोठमा रहेका खाद्यान्न लत्ताकपडा, नगद तथा गरगहना सबै जलेर नष्ट भएका थिए ।










