बागलुङ बजारमा खानेपानीको हाहाकार, वितरण प्रणाली समेत प्रभावकारी हुन नसक्दा सकस

-


     हिडन खबर    
     वैशाख २० गते २०८१ मा प्रकाशित


बागलुङ बजारमा खानेपानीको हाहाकार हुन थालेको छ। बागलुङ नगर खानेपानीले आवश्यकता भन्दा कम खानेपानीको आपूर्ति गर्दै आएको कारण बजारमा अहिले खानेपानीको हाहाकार नै भएको हो ।

बागलुङ बजारमा चौबीसै घण्टा शुद्ध खानेपानी वितरण गर्ने उद्देश्यले निर्माण भएको जिल्लाकै ठूलो कैलमपोखरी लिफ्टिङ आयोजना आंशिक रुपमा संचालनमा आएपनि बजारको खानेपानी समस्या समाधान हुन सकेको छैन।

सो आयोजना पूर्ण रूपमा संचालन गर्न समितिले ध्यान दिएको छैन । बजारमा खानेपानीको वितरण प्रणाली समेत प्रभावकारी हुन नसक्दा पानी अभाव हुने गरेको छ । कतिपय ठाउँमा उपभोक्ताले मिटर झिक्ने तथा धारामा सिधै मोटर लगाउने गरेको भएपनि नगर खानेपानीले त्यसको अनुगमन गर्न सकेको छैन ।

अहिले सर्वसाधारणहरुको पानीको जोहोका लागि बजार छेउछाउका मूल र धारामा भीड देखिन्छ । खानेपानीको अभावमा बागलुङ बजारका बासिन्दा डोकोमा गाग्री, बोतल तथा जार बोकेर बजार पारीको तित्याङ, गैँडाकोट तथा हाँडेपाखा धाउँदै आएका छन् ।

बजारमा मागको आधा मात्रै पानी काठेखोला गाउँपालिकास्थित रेश, लेखानी खोलाबाट र कैलमपोखरी लिफ्टिङ आयोजनाबाट पानीको आपूर्ति हुनै आएको छ।

भुदी खोला मुहानबाट प्रति सेकेन्ड १७ लिटरका दरले आउने गरेकामा अहिले घटेर प्रति सेकेन्ड ९ लिटर झरेको, रेश खोला मुहानदेखि प्रति सेकेन्ड १७ लिटर आउनेमा घटेर ८ लिटरमा झरेको, रिठ्ठेखोला मुहानदेखि प्रति सेकेन्ड ४ लिटरका दरले आइरहेकोमा हाल उक्त मुहान पुर्ण रुपमा सुकेको र कैलमपोखरी लिफ्टिङ आयोजनाबाट आउने पानीमा बेला बेलामा बिद्युत्त अवरुद्ध हुने गरेकोले पानी अभाव भएको नगर खानेपानीले जनाएको छ ।

लामो खडेरीका कारण पानीका मुहान समेत सुक्न थालेको कारण बजारमा खानेपानीको अभाव भएको कार्यालयले जनाएको छ। सदरमुकाममा प्रतिसेकेन्ड ६० लिटर भन्दा धेरै खानेपानीको माग छ ।

उपभोक्ताबाट मासिक लाखौ रकम असुल्दै आएको बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले लामो समयदेखि बजारमा पानीको उचित प्रवन्ध गर्न सकेको छैन ।