
नेपाली बजारमा आर्थिक संकट पैदा भएको झण्डै दुई बर्ष पुगिसकेको छ । अहिलेसम्म आर्थिक अभाव समाधान हुन सकेको भने छैन ।
यतिबेला बागलुङमा बैंक तथा बित्तिय संस्थामा जागिर गर्ने कर्मचारीहरू ठूलो टर्चरको सामना गर्दै आफ्नो जागिर गर्न बाध्य भएका छन् ।
जिल्लामा शाखा रहेको बैंकमा ग्राहकले पैसा जम्मा गर्ने क्रम ह्वात्तै घटेर गएपछि हरेक दिन बैंकका शाखा प्रवन्धक देखि अरू कर्मचारी घर घरमै पुगेर पैसा बचत गराउनका लागि धाइरहेका छन् ।
बागलुङ बजारमा ठूला ब्यापारी धेरै छैनन् भएका ब्यापारी कसैले आफ्नै सहकारी स्थापना गरेका छन् भने कसेैले आफै बैंकको सञ्चालक तथा प्रमोटर भएको कारणले पनि भएको रकम भरसक आफ्नेै संस्थामा जम्मा गर्ने गरेको देखिन्छ ।
बैंकले हरेक दिन कर्मचारीलाई जसरी भएपनि खातावालाको घरमै पुगेर डिपोजिट ल्याउन र मुद्दती खातामा पैसा ल्याउन दबाब दिएपछि बिहानदेखि बेलुकासम्म बागलुङ बजारमा को सँग पैसा होला त्यो पैसा कसरी आफ्नो बैंकमा लैजाने भन्ने चिन्ता भएको कुरा सदरमुकामको एक बैंकमा कार्यरत कर्मचारीले हिडन खबरसँग बताएका हुन ।
अहिले धेरैको रहर पढेलेखेपछि बैंकमा जागिर खाने राम्रो आनन्दको जिन्दगी बिताउने देखिन्छ तर अहिले बैंकमा जागिरको लागि प्रवेश गर्न पहिलाजस्तो सहज भने छैन ।
अहिले जागिरमा आउने नयाँ कर्मचारी समेतले बैंकमा प्रवेश गरेपछि जागिर खानको लागि मासिक रूपमा लाखौं रूपैयाँ जम्मा गर्ने ब्यापारी ब्यबसायी खोज्नु पर्ने मुद्दती निक्षेप जम्मा गर्ने ब्यक्ति खोज्ने जिम्मेवारी लिनुपर्ने सर्त मानेर मात्रै जागिर गर्न पाउने बाध्यता रहेको अहिले बैंकको जागिरमा प्रवेश गरेका कर्मचारीको भनाइ छ ।
बागलुङ बजारको लागि कतिवटा बैंक तथा बित्तिय संस्था आवश्यक हो कतिवटा लाई आर्थिक काम कारोवार गर्न पुग्ने क्षेत्र छ त्यसको कुनै सर्वक्षण नै नगरी आउदाको परिणाम अहिले कर्मचारीले भोगेका छन् ।
अहिले दिनहुँजसो बैंक तथा बित्तीय संस्थाका कर्मचारी बजारका ब्यापारी कहाँ आउने गर्दा ब्यापारीहरू समेत तनाव र दवाबमा परिरहेको व्यवसायीहरू हिडन खबर बताए ।
बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ ले थला परेको आर्थिक बजार अझै पुरानो लयमा फर्कन सकिरहेको छैन । बागलुङ जिल्लामा दुई दर्जनभन्दा बढी निजी क्षेत्रका बैंकले दैनिक रूपमा आर्थिक कारोवार गरिरहेका छन् ।
जिल्ला सदरमुकाम रहेका दर्जनौं सहकारी संस्थाहरूका कर्मचारी लाई समेत जागिर खाएको हरेक दिन नयाँ नयाँ टार्गेट पुर्याउने योजना दिन थालेपछि उनीहरू समेत यतिबेला ठूलो दवाब सहेर जागिर खान बाध्य भइरहेको बताउँछन् ।
थोरै पैसामा धेरै दवाबमा काम गर्नुपर्ने भएपनि भएको सानोतिनो जागिर जोगाउन पनि यतिबेला घर घरमा पुगेर शेयर सदस्य बनाउन लगाउने देखि सहकारीमा डिपोजिट जसरी भएपनि ल्याउन बाध्य छन् ।
एकातिर दैनिक रूपमा नियमित गर्नुपर्ने काम आफ्नो ठाउँमा छ अर्कोतिर तिर दिनहुँ लाखौं रूपैयाँ बजारबाट उठाएर लग्नुपर्नै अर्कोतिर मुद्दतीमा धेरै ब्याजको लोभ देखाएर पैसा उठाउनु पर्ने बाध्यता कायमै छ ।
बैंक तथा बित्तीय संस्थामा ऋणको लागि माग गर्ने धेरै ब्यबसायी र ब्यापारी भएपनि यतिबेला ऋण प्रवाह गर्न भने सकेको छैन ।बैंकले यतिबेला ऋण भन्दा पनि आफैले बचत संकलनमा लागि रहेको छ ।
बागलुङमा सहकारी संघसंस्थाले नयाँ नयाँ योजना ल्याएर ग्राहक संग रकम मुद्दती खातामा जम्मा गर्न कम्मर कसेर लागिपरेको देखिन्छ । बागलुङबाट एक सहकारीले करिव एक अरब भन्दा बढी रकम जम्म गरी काठमाडौ लगेको कारणले पनि बागलुङ बजारमा आर्थिक संकट छाएको देखिन्छ ।
अहिले दिनहुँजसो बैंक तथा बित्तिय संस्थाले बजारमा आर्थिक तरलता छाएपछि ग्राहकलाई दिदै आएको ब्याजदर बृद्वि गर्दै आएपनि भनेजति रकम भने बचत गराउन सकेका छैनन् ।
रेमिटान्स बढि भित्रीने जिल्ला भनेर चिनिने बागलुङ जिल्लामा केही महिनादेखि रेमिटान्स समेत घट्दै गइरहेको तथ्यांकले देखाउछ । यतिबेला सरकारले बिकास खर्चको नाममा छुट्टयाइएको बिकाश बजेट समेत राम्रोसंग खर्च हुननसकेको कारण थप समस्या सृजना भएको बागलुङ बैंकर्स संघका अध्यक्ष दीपक शर्माले बताउनुभयो ।
यतिबेला जिल्लामा ठूलो रकम भएका व्यवसायी हाइपरफन्ड लगायतका नयाँ नयाँ ब्यबसायमा लगानी गर्न थालेपछि जिल्लाबाट करोडौं रकम डलरको माध्यमबाट बिदेशीएपछि झन समस्या हुदै गइरहेको बैंकर्सका अध्यक्ष शर्माले बताउनुभयो ।
सरकारी खर्च बढ्न सकेको भए बजारमा पैसा आउथ्थो विदेशमा पढाइको नाममा लाखौं रूपैयाँ बाहिरिनु रेमिटान्स भित्रीने क्रम घट्दै जानू नै अहिले बजारमा आर्थिक संकट देखापरेको ब्यबसायी पुनम शर्माले बताउनुभयो ।
अहिले बजारमा आर्थिक संकट आउनुको पछाडि नेटवर्किङ मोडेलको हाइपरफन्डमा लगानी आकर्षित हुनु अस्वस्त प्रतिस्पर्धा अधिक ब्याज दिएर बचत संकलन गर्नु स्वदेशी पुजी वाहिरीनु राज्यकोषबाट लक्ष्य अनुसारको खर्च नहुनु नै प्रमुख कारण रहेको सिवाइसी बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख कवि न्यौपानेले बताउनुभयो ।
कोरोना भाइरसको तेस्रो लहर संगै कोरोनाको भ्याक्सिन धेरैको पहुँचमा पुगेपछि जिल्ला जिल्लामा लगाउदै आएको निषेधाज्ञा सामप्त भएपछि बजार केही चलायमान हुने अपेक्षा राखिएपनि त्यसले अझै मुहुर्त रूप लिन सकेको छैन ।
समग्र रूपमा हेर्दा बागलुङ जिल्लामा आर्थिक संकट चरम रूपमा बढेर जाने देखिन्छ । तिब्र प्रतिस्पर्धामा चलिरहेका ब्यापारी ब्यबसायी बैंक तथा बित्तिय संस्था सहकारीको चर्को ब्याजको कारण अब ब्यबसाय धान्न पनि मुश्किल देखिन्छ ।
सरकारले अब बैंक तथा बित्तिय संस्था हरुलाई राम्रोसँग नियमन गर्ने निति नबनाउने हो भने यसले थप बित्तीय संकट ल्याउने कुरामा कुनै दुई मत देखिदैन ।












