
बागलुङ । बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मीसेरामा आधुनिक सुविधासम्पन्न प्रहरी चौकी भवन निर्माण हुने भएको छ।
भवन निर्माणलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालयको टोली तथा निर्माणको जिम्मा पाएको ठेकेदार पक्षबीच निर्माणपूर्व तयारी र आवश्यक पूर्वाधारका विषयमा छलफल भएको छ।
छलफलमा निर्माणस्थल व्यवस्थापन, आवश्यक आधारभूत काम, निर्माण प्रक्रिया सहज बनाउने उपाय तथा सम्बन्धित पक्षको जिम्मेवारीबारे विचारविमर्श गरिएको जनाइएको छ।
जैमिनी नगरपालिकाको प्रमुख केन्द्र कुश्मीसेरामा आधुनिक प्रहरी चौकी भवन निर्माण हुनुलाई स्थानीय सुरक्षा व्यवस्थाको सुदृढीकरणका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।
भवन निर्माण सम्पन्न भएपछि प्रहरीको सेवा प्रवाह थप व्यवस्थित र प्रभावकारी हुने तथा नागरिकले सहज रूपमा सुरक्षा सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।
स्थानीयवासीले पनि निर्माण कार्य समयमै सम्पन्न गरी भरपर्दो सुरक्षा सेवा उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।












