
काठमाडौं /पूर्वसचिव भीमप्रसाद उपाध्याय भ्रष्टाचारमा मुछिएका छन् । उनीसहित १५ जना र तीन कम्पनीविरुध्द आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
मेलम्ची खानेपानी विकास समितिका तत्कालीन अध्यक्ष तथा खानेपानी मन्त्रालयका तत्कालीन सचिव उपाध्यायसहितले एशियाली विकास बैंकबाट ऋणमा लिएको रकम सम्झौताविपरीत र कानुनले तोकेभन्दा बढी पटकपटक ठेकेदार कम्पनीलाई भुक्तानी दिएको अख्तियारले जनाएको छ ।
आयोगले मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा.सञ्जय शर्मा, सहसचिव गजेन्द्रकुमार ठाकुर,अर्थ मन्त्रालयका तत्कालीन सहसचिव तथा बोर्डका सदस्य मुकुन्दप्रसाद पौडल,सदस्य तथा हाल अध्यागमन बिभाग प्रमुख रुद्रसिंह तामाङ, चन्द्रबहादुर थापा,समितिका तत्कालीन कार्यकारी निर्देशक घनश्याम भट्टराई, रामचन्द्र देवकोटा, सूर्यराज कँडेलविरुध्द मुद्दा दायर गरेको छ ।
त्यस्तै, तत्कालीन उपसचिव मणिभद्र न्यौपाने, मेघनाथ न्यौपाने, केदारप्रसाद अर्यास, लेखाअधिकृत रामचन्द्र न्यौपाने, निर्देशक भोजविक्रम थापा, तत्कालीन डिपुटी टिम लिडर शिवकुमार शर्मा, परामर्शदाता इप्टिशा सर्भिसेज डे–इञ्जिनियरिज, बेट्स कन्सल्टिङ सर्भिसेज लिमिटेड र निर्माण व्यवसायी सिएमसी डिआई रबिनाविरुद्ध पनि मुद्दा दर्ता भएको छ ।अख्तियारले प्रतिवादीहरूबाट ४ देखि ८९ करोड रुपैयाँसम्म मागदाबी लिएको छ।
भ्याटबाहेक ७ अर्ब ७२ करोड रुपैँयामा ठेक्का सम्झौता गर्दा सम्झौता विपरित कानुनले तोके भन्दा बढी पेस्की मोबिलाईजेशन गरेको आरोप उनीहरुमाथि छ । आयोगले मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य रुद्रसिंह तामाङ विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । तामाङ हाल अध्यागमन विभागका महानिर्देशक छन् ।
अख्तियारले सचिवहरु क्रमशः शर्मा, उपाध्याय, गजेन्द्रकुमार ठाकुरविरुद्ध आयोगले क्रमशः ६ करोड ९७ लाख ८३ हजार एक सय ७८ रुपैँया ९६ पैसा, चार करोड ११ लाख ३४ हजार दुई सय ७९ रुपैँया ९२ पैसा र ६० करोड ४९ लाख १९ हजार ८ सय ८४ रुपैँया ३१ पैसा विगोसहितको मागदावी लिएको छ ।अख्तियारले प्रतिवादीहरूबाट ४ देखि ८९ करोड रुपैयाँसम्म मागदाबी लिएको छ।
यसैगरी परामर्शदाताहरु तथा निर्माण कम्पनीउपर पनि सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आरोप(पत्र दायर भएको अख्तियारले जनाएको छ ।












