चैत २४ देखि चैत्राष्टमी मेला-२०७८ हुने 

- ३ लाख राशिको लोक दोहोरी  प्रतियोगिता

-


     राम प्रसाद घिमिरे    
     फागुन १९ गते २०७८ मा प्रकाशित


काेराेना भाइरस महामारीले दुई वर्ष देखि प्रभावित भइरहेका मेला, महोत्सवहरु क्रमश पुरानो लयमा फर्कन थालेका छन् । गण्डकी प्रदेशमै ऐतिहासिक मेला मानिएको चैत्राष्टमी मेला यसपटक भब्य रूपमा सम्पन्न गर्ने तयारी भएको छ।

कोरोना महामारीका कारण २०७५ पछि रोकिएको मेला यो वर्ष सञ्चालन हुने भएको हो । चैत्राष्टमी मेला २०७८ को सञ्चालनका लागि समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा मेला मूल आयोजक समिति गठन गरेको छ ।

गुठि व्यवस्थापन समिति अध्यक्ष अध्यक्ष कुमार खड्काकाे अध्यक्षतामा बसेकाे बैठकले आउँदो चैत २४ देखि २८ गतेसम्म सञ्चालन हुने मेला सम्पन्न गर्न विभिन्न १२ वटा उप-समिति गठन गरिएको छ । 

चैत्राष्टमी भलिबल खेल उप-समितिकाे संयाेजकमा अर्जुन खड्का, दाेहाेरी गीत उप-समिति संयाेजकमा भरत खड्का, लोक भजन उप-समिति संयाेजकमा पारस खड्का, प्रचारप्रसार उप-समिति संयाेजकमा राजेशचन्द्र राजभण्डारी, मन्च र स्टल उप-समिति संयाेजकमा ध्रुव खड्का, साउन स्टिम उप-समिति संयाेजकमा बिदुर शर्मा, अतिथि सत्कार उप-समिति संयाेजकमा लिलादेवी खड्का, रमाइलो मेला उप-समिति संयाेजकमा कृष्ण खड्का, झाँकी ब्यवस्थापन उप-समिति संयाेजकमा मुकुन्द शाक्य, आर्थिक ब्यवस्थापन उप-समिति संयाेजकमा रामबहादुर खड्का र मेलाको कानुनी परामर्शमा अधिबक्ता राम शर्मालाई जिम्मेवारी दिएको छ ।

पाँच दिनसम्म सञ्चालन हुने मेलाको तयारी थालिएको आयोजक कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ ।

अध्यक्ष खड्काका अनुसार विगतका बर्षहरुमा जस्तै विविध खेलकूद र मनोरञ्जनात्मक कार्यक्रम र स्थानीय लोक संस्कृतिको जगेर्ना गर्न सर्वाधिक राशिको लोक भजन प्रतियोगिता समेत आयोजना गरिएको  जनाएको छ ।

मेलाको मृख्य आकर्षणका रुपमा खुला लोकदोहोरी प्रतियोगिता, कालिका कप खुल्ला पुरुष भलिबल, राष्ट्रिय लोकभजन, परम्परागत छेलो प्रतियोगिता आदि रहने समितिले जनाएको छ । यसवर्ष प्रतियोगिताको पुरस्कार राशि समेत बढाइएको छ ।

 मेलामा सर्वाधिक राशिको खुल्ला लोक दोहोरी  प्रतियोगिताको प्रथम हुने समूहले ३ लाख, दोस्रोले १ लाख ५० हजार र तेस्रोले रु ७५ हजार पुरस्कार पाउनेछ ।

भलिबल खेलमा पनि लोकदोहोरी प्रतियोगिता अनुसार पुरस्कार राखिएको छ त्यस्तै मेलामा राष्ट्रिय लोकभजन प्रतियोगितामा पहिलो हुने समूहले २ लाख, दोस्रो समुहले १ लाख र तेस्रोलाई रु ५० हजार पुरस्कार राशि राखिएको आयोजकले जनाएको छ ।

यस्तै परम्परागत छेलो प्रतियोगिताका विजेताले रु ११ हजार १ सय ११ र उपविजेताले ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने छन् । मेलामा बालउद्यान रमाइलो मेला लगायत मनोरञ्जनात्मक गतिविधि समेत सञ्चालन गरिने मेला प्रचारप्रसार उप-समितिका संयोजक राजेशचन्द्र राजभण्डारीले बताए । 

मेला अवधिभर विभिन्न जातजातिका संस्कृति झल्काउने झाँकी, गीत तथा नृत्य प्रस्तुत गर्ने कार्यक्रम समेत रहेको छ । कालिका भगवती मन्दिर परिसरमा हुने मेला अवधिभर करिव ३ लाख दर्शक उपस्थित हुने अपेक्षा गरिएको छ ।