
बागलुङ । तिहारको अवसरमा बागलुङको जैमिनी नगरपालिका–१, कुश्मीसेरास्थित ज्योति आमा समूहले परम्परागत भैलो खेल्दै मौलिक कला, संस्कृति र परम्पराको संरक्षणमा सक्रियता देखाएको छ।
समूहका महिलाहरूले परम्परागत भैलो गीत गाउँदै गाउँघर तथा टोलबस्तीमा पुगेर तिहारको रौनक थपेका छन्। आधुनिकता र प्रविधिको प्रभावसँगै मौलिक लोकसंस्कृति ओझेलमा पर्दै गएका बेला आमा समूहले परम्परागत भैलोलाई निरन्तरता दिँदै संरक्षणको सन्देश दिएको हो।
भैलोले मनोरञ्जनसँगै सामाजिक सद्भाव, आपसी एकता र पुस्तान्तरणमा समेत योगदान पुर्याउने भएकाले यस्ता सांस्कृतिक गतिविधिको निरन्तरता आवश्यक रहेको समूहको सक्रियताले देखाएको छ।
घरायसी जिम्मेवारीसँगै सामाजिक तथा सांस्कृतिक गतिविधिमा महिलाहरूको सहभागिताले स्थानीय कला, संस्कृति र पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ। ज्योति आमा समूहको यो प्रयासले नयाँ पुस्तालाई समेत मौलिक संस्कृति र परम्पराप्रति आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।









