राजेशचन्द्र राजभण्डारी
प्रत्येक वर्ष श्रावण शुक्ल पूणिर्माका दिनमा मनाइने रक्षाबन्धन एवम् जनैपूणिर्मा पर्व बिहीबार मनाइँदैछ ।यश बर्ष पुरूषाेत्तम मास अर्थात् मलमास परेको कारण रक्षाबन्धन र जनैपूणिर्मा केही दिन पर सरेको हाे ।
हिन्दु धर्मावलम्बीहरूले बिहानैदेखि नजिकैको चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ मा रहेको चन्दन भराटेश्वर महादेव मन्दिरमा पुगेर धार्मिक परम्परा अनुसार जनै फेर्नूका साथै ब्राह्मणकाे हातबाट रक्षा बन्धन बान्न पुगेका छन् ।
जनैपूणिर्माकाे आफ्नै महत्त्व भएको कारणले गर्दा हरेक साल यहीँ मन्दिरमा आएर जनै फेर्ने गरेको स्थानीय शिव खरेलले बताए ।
जनैपूणिर्माकाे धेरै महत्त्व रहेको ब्रमा बिष्णु महेशकाे शक्ति यश धागोमा रहेको यो कुन सामान्य धागो नभएको हिन्दु संस्कार अनुसार ब्राह्मण क्षेत्रीले लगाउने जनैकाे महत्त्व धेरै भएको पण्डित साेमनाथ पाेखरेलले बताए ।
आजकै दिन तागाधारीले आफ्नो जनै अर्थात् यज्ञोपवीत फेर्ने परम्परासमेत छ । यसका लागि अघिल्लो दिनदेखि केशमुण्डन गरी एक छाक मात्र खाएर चोखोनीतो गरी बस्ने गरिन्छ ।
यसरी व्रत बसेका तागाधारीले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दतिवन र सप्तमृत्तिका लगाएर स्नान गर्छन् ।
स्नानपछि जौतिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ । यसरी जनै फेर्ने गरिएकाले नै आजको दिनलाई जनैपूणिर्मासमेत भनिन्छ । वैदिक गुरु परम्पराको पूर्वीय दर्शनअनुसार जनैलाई ब्रहृमसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ ।
जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रहृमा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पुजिन्छ भने अर्को डोराका तीन शिखालाई कर्म, उपासना र ज्ञानको त्रियोगका रुपमा मानिन्छ ।
आजकै दिन शरीर शुद्ध गरी देवता, सप्तर्षि र पितृलाई पनि तर्पण गरिने भएकाले नै ऋषितर्पणीसमेत भन्ने गरिएको हो । विशेषतः आजको दिन सप्तषिर्लाई तर्पण दिने गरिन्छ ।
आजका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर क्वाँटी बनाई खाने परम्परासमेत रहेको छ । क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षभरि खेतीपातीको काम गर्दा शरिरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक मान्यता समेत रही आएको छ ।
आजको दिन काठमाडाैंको पशुपति र मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणीधामलगायत ताल, पोखरी र कुण्डमा समेत मेला लाग्छ ।
आजको दिनलाई नेवारी समुदायले भने गुन्हु पुन्ही भनी मनाउने गर्छन् । विशेषगरी क्वाँटी खाने परम्परा नेवारी समुदायको यसै पर्वबाट आएको हो भन्ने तर्क पनि एकथरि संस्कृतिविद्को छ ।













