भाइरल रत्नेचौर: पर्यटकको पर्खाइमा रानीपोखरी !

-


     राम प्रसाद घिमिरे     
     फागुन २ गते २०७८ मा प्रकाशित


म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नम्बर १ रत्नेचौरमा रहेको बुढोपोखरीको पर्यटकको पर्खाइमा छ ।

दशकौं अगाडि गाई भैंसीलाई पानी खुवाउन र पौडिनका लागी निर्माण गरिएको उक्त पोखरीको स्तर उन्नति भए सँगै आकर्षण केन्द्र बन्न थालेको हो ।

आन्तरिक र बाह्य पर्यटकको उपयुक्त गन्तव्य स्थान बनाउनका लागि पोखरीलाई स्विमिङ पुल सहित केहि डुङ्गाहरुको समेत व्यवस्थापन गर्न लागिएको भानु माध्यमिक बिद्यालयका प्रधानाध्यापक भरत खत्रीले हिडन खबरलाई बताए ।

वडा कार्यालय अन्तर्गतको चालु आर्थिक वर्षको २ लाख बजेटमा उक्तकामको थालनी गर्न लागिएको हो र पोखराको दीर्घकालीन बिकास र प्रबर्द्धनका लागि केन्द्रीय सरकारमा १८ लाखको डिपीआर गरि पेश गरिसकिएको वडा अध्यक्ष टेक बहादुर रावलले बताए ।

पोखरी निर्माणको कार्य करिब ७ दशक अगाडि टापुमा रहेको रत्नेचौरमा पानीको अभाव पूरा गर्न आकाशे पानी संकलनका लागी स्थानीयको सक्रियता खनिएको कुवा पछि रत्नेचौर र अर्जमका स्थानीयहरुले ढुङ्गाका छपनीहरु बोकेर ठूलो पोखरीमा स्तरउन्नति गरिएको इतिहास रहेको पुर्व गाविस अध्यक्ष समेत रहेका ८७ वर्षीय टंकराज महतले बताए ।

पोखरीमा धौलागिरी हिमालको छाँया देखिने भएकोले यसलाई रानीपोखरी भनिएको स्थानीयको भनाइ रहेको छ । पानीमा धौलागिरी हिमालको निकै आकर्षक छाँया देखिने भएकाले अहिले फोटो खिच्ने र रमाउनेहरुको घुइँचो लाग्न थालेकोको स्थानीय भानु माध्यमिक बिद्यालयका साहायक प्रधानाध्यापक एकेन्द्र बहादुर महतले बताए ।

मनमोहन तोरीवारि बाट सामाजिक सञ्जालमा भाइरल भएको रत्नेचौरमा रहेको यो पोखरीले म्यादी तथा बागलुङको मात्र नभएर समग्र धौलागिरी क्षेत्रकै पर्यटन प्रबर्द्धनमा ठुलो टेवा पुग्ने प्रधानाध्यापक खत्रीको विश्वास रहेको छ ।