
बागलुङ जिल्लामा ट्राफिक प्रहरीले सवारीसाधन चेकजाँचमा सक्रियता बढाएपछि राजस्व बृद्वि भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्षको तुलनामा चालु वर्षमा ८० प्रतिशतभन्दा बढी राजश्व संकलन गरेको छ ।
गत आर्थिक वर्षको साउन, भदौ र असोज गरी ३ महिनामा १० लाख ७३ हजार राजश्व गरेकाेमा चालु वर्षको सोही अवधिमा जिल्ला ट्राफिकले १८ लाख ९७ हजार रुपैयाँ संकलन गरेको हो ।
ट्राफिक व्यवस्थापनमा ध्यान दिँदै जथाभावी रूपमा सवारीसाधन चलाउने चालकलाई चेकजाँच कार्वाही गर्दा राजश्वसमेत बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयकम प्रमुख राजकुमार केसीले बताए । अघिल्लो वर्षको तुलनामा नियमित जाँच, कारबाही र अनुगमन पनि बढाइएपछि राजस्व संकलन बढेको केसीले पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएका थिए ।
गत वर्षको तीन महिनामा १ हजार ८ सय सवारी साधन कारबाहीमा परेका थिए भने चालु वर्ष २ हजार ८ सय सवारी कारबाहीमा परेकाे ट्राफिक प्रहरीले जनाएको छ ।
कारबाहीमा पर्नेमा सबैभन्दा धेरै मोटरसाइकल छन् । लाइसेन्स बिनै हिड्ने, जथाभावी बाटो काट्ने, नियम पलना नगर्ने जस्ता धेरै अनियमितता हुने गरेको उनले बताए । त्यसपछि अनियमितता गर्नेमा रातो प्लेटका पिकअप जिपहरू धेरै रहेको रहेको केसीले जानकारी गराएका थिए ।
रातो प्लेटका पिकअप जिपमा यात्रु ओसार्ने साथै क्षमताभन्दा बढी यात्रु राखेर चलाउने गरेको भेटिएको हो । बागलुङ सदरमुकामबाट दक्षिणको जैमिनी र बरेङ तथा बलेवातर्फ १ सयभन्दा बढी, गलकोट, बुर्तिवाङ, ताराखोला लगायत स्थानमा २ सय ५० बढी रातो प्लेटका पिकअपले नियमित यात्रु बोक्ने गरेको प्रहरीको तथ्यांक छ ।



सिटमा मात्रै यात्रु राखेर हिँड्दा हामीले चासो पनि गर्दैनौं, तर सामान राख्ने स्थान र छतमा समेत यात्री राख्दा कारबाही गर्ने गरेको ,’ केसीले भने, ‘नियम पालना गर्दा कतिपय यात्रीले दुःख पाएका छन् ।’ ग्रामीण बस्तीमा रातो प्लेटका पिकअपले यात्री ओसोर्ने गरेका छन् । यहाँ कालो प्लेटका जिप चल्दैनन् । सामान ओसार्दा दुइ/चारजना यात्री लगेमा प्रहरीले वास्ता नगर्ने गरेको हो । चाडपर्वमा यो क्रम बढी हुने गरेको छ । ‘ग्रामीण सडकहरू मर्मत नभएर जोखिमका छन्, त्यसमा कोचाकोच यात्री राख्दा दुर्घटनाको खतरा बढेको ,’ केसीले भने, ‘सबैले यो समस्या व्यवस्थापनमा साथ दिएर दुर्घटना न्युनिकरणमा सहयोग गर्नुपर्ने ट्राफिक प्रहरीले बताए ।’
सदरमुकाम र मुख्य बजारी क्षेत्रमा हुने अव्यवस्थित पार्किङले पनि दुर्घटना बढाएको उनले बताए । त्यस्तै जथाभावी पार्किङ गरेकालाई कारबाही पनि चलाइएको छ । बिगत तीन वर्षदेखि बागलुङ बजारमा एकतर्फी नो पार्किङको व्यवस्था गरिएको छ ।
बजार क्षेत्रमा हुने दुर्घटनामा न्यूनिकरण गरेको छ । तर कतिपय स्थानमा दोहोरो पार्किङ गरेर छाड्ने प्रवृत्ति हटाउन ट्राफिकले जनप्रतिनिधि र व्यवसायीसँग समन्वयात्मक कार्यक्रम गरेको छ ।












