
नेपाली हिन्दूहरूका आरोग्य देव भगवान श्री गणेशको धार्मिक विधिपूर्वक पूजा गरि गणेश चतुर्थि बागलुङ सदरमुकाममा मनाइयो ।
बागलुङ नगरपालिका वडा नम्बर ३ मा रहेको जोर गणेश मन्दिरबाट यो बर्ष पनि गणेशको मूर्ति मन्दिर परिसरबाट धार्मिक विधि पुर्वक पुजा अर्चना गरेर नगर परिक्रमा गराइएको छ ।
भजन किर्तन सहित हिन्दु धर्मावलम्बीहरू, गणेश मन्दिर ब्यबस्थापन समितिका पदाधिकारी सहितको टोलीले नगर परिक्रमा गरेको थियो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका मेयर बसन्त श्रेष्ठले धार्मिक संघसंस्थालाई संस्थागत बनाउदै लग्नु सकारात्मक पक्ष भएको बताए ।
स्थानीय तहमा आफू निर्वाचित भएर आएको ३ महिनामात्र भएको अहिले हरेक ब्यक्ति देखि संघसंस्थाको आशा अपेक्षा धेरै भएको तर त्यसलाई आवश्यक्ताको आधारमा पूरा गर्ने मेयर श्रेष्ठले बताए ।
गणेश मन्दिर ब्यबस्थापन समितिले बागलुङ नगरपालिकामा निर्वाचित नगर प्रमुख बसन्त श्रेष्ठलाई गणेश चतुर्थिको पावन अवसर पारेर खादा र टीकाबाट सम्मान गरेको थियो।यस्तै मन्दिरको लागि सहयोग गर्ने सहयोग दाता शहदेब राजभण्डारीलाई पनि कार्यक्रम सम्मान गरिएको थियो ।
हिन्दू धर्मावलम्बीले कुनै पनि धार्मिक कार्यको शुभारम्भ गर्नु पूर्व गणेशको पूजागरेर सुरू गर्ने अगाडि बढाइने भएकोले पनि भगवान गणेशको पूजा भब्य रूपमा मनाउँदै आएको छ ।
गणेश मन्दिरलाई भक्तजन समाजसेवी र सहयोगीहरूले दिएको रकमको अक्षयकोषको ब्याजबाट यसको खर्च हुने गरेको छ । अहिलेसम्म मन्दिरमा ५० लाख भन्दा बढी रकम कोषमा जम्मा भएको समितिले जनाएको छ ।
कार्यक्रममा सहयोग दाता शहदेव राजभण्डारी ,मन्दिर ब्यवस्थापन समितिका शर्मिला प्रधानाङ्ग ,लगायतका बक्ताहरूले धार्मिक संघसंस्थालाई बचाएर लग्न सकेको खण्डमा मात्रै हाम्रो धर्म संस्कृति जोगिने धारणा राखेका थिए । कार्यक्रम मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष भीमसेन कुमार श्रेष्ठ अध्यक्षता सचिव निर्माण कुमार श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।









