कुलेन्द्र विश्वकर्माको ‘सानो मन नगर’ सार्वजनिक, प्रेम र विश्वासको सुन्दर कथाले जित्दै दर्शकको मन

-


     केपी कुमार जलन    
     जेठ २५ गते २०८३ मा प्रकाशित


नेपाली लोकसंगीत क्षेत्रमा निरन्तर उत्कृष्ट सिर्जना प्रस्तुत गर्दै आएका गायक कुलेन्द्र विश्वकर्माले आफ्नो नयाँ गीत ‘सानो मन नगर’ सार्वजनिक गरेका छन्।

चर्चित गायिका मेलिना राईसँगको सुमधुर युगल स्वर रहेको यो गीत सार्वजनिक भएसँगै युट्युब तथा सामाजिक सञ्जालमा दर्शक–श्रोताबाट उल्लेखनीय साथ पाइरहेको छ।

गीतले प्रेम सम्बन्धमा देखिने भावनात्मक उतार–चढाव, एकअर्काप्रतिको विश्वास र मायाको गहिराइलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ।

शब्दकार नवराज पन्तले सरल तर मन छुने शब्दमार्फत संवेदनशील भावनालाई जीवन्त बनाएका छन् भने बसन्त थापाको संगीतले गीतलाई थप आकर्षक बनाएको छ।भिडियोमा गायक कुलेन्द्र विश्वकर्मा र मोडल जुना सुनारको मनमोहक अभिनय देख्न सकिन्छ। उनीहरूको केमेस्ट्री, रमणीय प्राकृतिक दृश्य तथा उत्कृष्ट छायांकनले भिडियोको सौन्दर्यलाई अझ उचाइमा पुर्‍याएको छ।

विवेक बीकेको छायांकन, अमृत चापागाईंको सम्पादन तथा रंग संयोजन, र एकेन्द्र सराशंकरको निर्देशनले भिडियोलाई स्तरिय बनाएको छ।

लोकधुनमा आधुनिक स्वाद मिसाइएको ‘सानो मन नगर’ले युवा पुस्तादेखि परम्परागत लोकसंगीतका पारखीहरूसम्मलाई आकर्षित गरिरहेको छ।

सार्वजनिक भएको छोटो समयमै गीतले सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ भने संगीतप्रेमीहरूले यसलाई वर्षकै उत्कृष्ट प्रेमिल लोकगीतहरूमध्ये एकको रूपमा लिन थालेका छन्।

कुलेन्द्र विश्वकर्माको निरन्तर सफल सांगीतिक यात्रामा ‘सानो मन नगर’ अर्को महत्वपूर्ण उपलब्धि बन्ने संकेत देखिएको छ। मेलिना राईको मिठासपूर्ण स्वर र उत्कृष्ट प्रस्तुतीले गीतलाई अझ सशक्त बनाएको छ।