
जेठ २२, बागलुङमालिका सेवा समाज, बागलुङले बागलुङ नगरपालिका–५ मालिकामा जेष्ठ नागरिक तथा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ।
शुक्रबार आयोजित कार्यक्रममा वडाभित्रका ७ जना जेष्ठ नागरिक र ५ विद्यालयका २० जना विद्यार्थीलाई सम्मान गरिएको हो।
जेष्ठ नागरिकले समाजमा पु¥याएको योगदानलाई कदर गर्दै उहाँहरूको अनुहारमा खुशी ल्याउने उद्देश्यले ७ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो।
विद्यार्थी सम्मान कार्यक्रममा मालिका माध्यमिक विद्यालय, श्रीकृष्ण आधारभूत विद्यालय, मालिका आधारभूत विद्यालय, वालश्रम प्रावि तथा बागलुङ नगरपालिका–६ को लहरेपिपल माध्यमिक विद्यालयका १९ जना उत्कृष्ट छात्र–छात्रालाई एक वर्ष पुग्ने कापी, कलम र प्रमाणपत्र प्रदान गरिएको थियो। साथै लहरेपिपल माध्यमिक विद्यालयकी छात्रा दिपिका किसानलाई कापी, कलम, झोला तथा विद्यालय पोशाक सहयोग गरिएको थियो।
सो अवसरमा गण्डकी प्रदेश सभाका पूर्व सदस्य तथा मालिका सेवा समाजका संरक्षक इन्द्रलाल सापकोटाले समाजलाई समुन्नत बनाउन सबैको साझा संकल्प आवश्यक रहेको उल्लेख गर्दै गाउँमै आय र श्रमसँग जोडिएको वातावरण सिर्जना गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।कार्यक्रममा बागलुङ नगरपालिका–५ का वडाध्यक्ष हरिप्रसाद शर्मा, पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सुवास आचार्य, नेपाल रेडक्रस सोसाइटी मालिका उपशाखाका अध्यक्ष मात्रिका आचार्य, लहरेपिपल माध्यमिक विद्यालयका शिक्षक सन्तोष बोहोरा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।त्यस अवसरमा मालिका सेवा समाजले आयोजना गरेको मादल तालिमका सहभागीलाई प्रमाणपत्र र प्रशिक्षक मनिष कँडेललाई सम्मान गरिएको थियो।
कार्यक्रम मालिका सेवा समाजका अध्यक्ष जीवननाथ शर्मा रेग्मीको अध्यक्षतामा, कोषाध्यक्ष प्रकाश केसीको स्वागत मन्तव्य तथा सचिव खडानन्द सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो।
मालिका सेवा समाजले विगतदेखि नै आर्थिक अवस्था कमजोर भएका परिवारलाई स्वास्थ्य उपचारका लागि सहयोग, समाजको क्यालेन्डर प्रकाशन गरी घर–घरमा वितरण, जेष्ठ नागरिक तथा अपांग नागरिकलाई सम्मान र सहयोग, शैक्षिक सामग्री वितरण, स्ट्रेचर वितरण लगायतका सामाजिक कार्य गर्दै आएको छ ।
















