कुश्मा बहुमुखी क्याम्पसको प्रथम वार्षिकोत्सव सम्पन्न

-


     सुजन आचार्य     
     जेठ २४ गते २०८३ मा प्रकाशित


कुश्मा बहुमुखी क्याम्पसको प्रथम वार्षिकोत्सव तथा साधारणसभा कुश्मामा सम्पन्न भएको छ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष गोविन्द पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा गुप्तेश्वर बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष अर्जुन जोशी प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि जोशीले सामुदायिक क्याम्पसले गुणस्तरीय उच्च शिक्षाको विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै स्थानीय आवश्यकताअनुसार दक्ष जनशक्ति उत्पादनमा जोड दिनुभयो।

क्याम्पस अध्यक्ष पहाडीले एक वर्षको शैक्षिक प्रगति, उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराउँदै गुणस्तरीय शिक्षा र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताउनुभयो।

वार्षिकोत्सवका अवसरमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी योजनाबारे छलफल गरिएको थियो। कार्यक्रममा शिक्षाप्रेमी, अभिभावक, प्राध्यापक, विद्यार्थी तथा सरोकारवालाको सहभागिता रहेको थियो। उत्कृष्ट योगदान दिने व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो।

गुप्तेश्वर बहुमुखी क्याम्पस र शिवालय बहुमुखी क्याम्पस एकीकरणपछि कुश्मा बहुमुखी क्याम्पस स्थापना भएको हो, जहाँ हाल स्नातकोत्तर तहसम्म अध्यापन भइरहेको छ।