बागलुङमा ११ हजार भन्दाबढी सवारी चालक ट्राफिक कार्वाही परे

-


     हिडन खबर    
     श्रावण १२ गते २०७९ मा प्रकाशित


राजेशचन्द्र राजभण्डारी

गाउँ गाउँमा सडक बिस्तार भए संगै यातायातका साधन चल्न थालेपछि ट्राफिक कार्वाही पर्ने क्रम पनि बढेर गएको छ ।गण्डकी प्रदेशको दाेस्राे ब्यापारी केन्द्र बागलुङमा सबै प्रकारका सवारी साधन गरि ११ हजार भन्दा बढी सवारी चालक ट्राफिक कारवाहीमा परेका छन्।२०७८ साउनदेखि ०७९ असारसम्म ११ हजार ५ सय ५०जना ट्राफिक कारवाहीमा परेका हुन्।

ट्राफिक प्रहरीले सवारी नियम उलंघन गर्ने लाई कारवाही थालेपछि सवारी दुर्घटना पनि कम भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख राजकुमार केसीले बताए। ट्राफिक कारवाहीबाट आर्थिक बर्ष ०७८/०७९ मा ६९ लाख ९८ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको ट्राफिक प्रहरीले जनाएको छ।

२०७९ असारमा महिनामा सबैभन्दा धेरै सवारी चालक कारवाही परेका छन्। असार महिनामा १ हजार ५ सय जना चालक कारवाहीमा परेका थिए। जसबाट ९ लाख २७ हजार ५ सय रुपैयाँ राजस्व पनि संकलन भएको छ।

एक आर्थिक बर्षमा ट्रक/ टिपर ११५८ वटा बस ७०१ वटा कार /जीप ५४९७ वटा ट्याक्टर १०९९ वटा माेटर साइकल /स्कुटी ३ हजार वटा र अन्य सवारीसाधन ९५ वटा गरि ११ हजार ५ सय ५० वटा कार्वाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ट्राफिक जनचेतना र गाउँ गाउँमा ट्राफिक प्रहरीको पहुँच पुगेपछि सवारी दुर्घटनामा समेत यश बर्ष कमि आएको देखिन्छ ।आर्थिक बर्ष २०७८/२०७९ टिपर दुर्घटना २ वटा ,बस ३ वटा ,जीप/कार ६ वटा ट्याक्टर ६ वटा माेटर साईकल १२ वटा गरि २९ वटा सवारीसाधन दुर्घटना भएको छ ।सवारी दुर्घटनामा ११ जनाकाे मृत्यु २१ जना गम्भीर घाइते र ७ जना सामान्य घाइते भएकाे ट्राफिकले जनाएको छ ।

बागलुङ जिल्लामा मादक पदार्थ सेवन गरि सवारीसाधन चलाउने ११९ जना कार्वाहीमा परि १ लाख १९ हजार जरिवाना असुल गरेको छ ।ट्रक र टेङ्कर चालक ३ जना कार /जीप चालक २४ जना टेक्टर चालक १७ जना टेम्पो चालक ३ जना र माेटर साईकल चालक ७२ जना गरि ११९ जना सवारी चालकलाई मादक पदार्थ सेवन गरि सवारीसाधन चलाएकोमा कार्वाही गरि जरिवाना असुल गरेको जनाएको छ ।

सवारी दुर्घटना कम गर्नका लागि ट्राफिक जनचेतना कार्यक्रम एक बर्षकाे अवधिमा २३ हजार ८ सय ५२ जनालाई दिएको जनाएको छ ।