खानेपानी फाेहाेर वितरण गरेको भन्दै उपभोक्ता प्रशासनमा

-


     हिडन खबर    
     जेठ ३१ गते २०७९ मा प्रकाशित


बागलुङ सदरमुकाममा वितरण गर्दै आएको खानेपानी अशुद्ध फाेहाेर भएको भन्दै उपभोक्ताहरू आफ्नो माग स्थानीय सराेकारवाला समक्ष पेश गरेका छन् । बागलुङ नगर क्षेत्रका खानेपानीका उपभोक्ताहरुले सफा पानीको माग गर्दै जिल्ला प्रशासन कार्यालय बागलुङ र बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई ध्यानाकर्षण गराएका छन् ।

बागलुङ नगरपालिका वडा न.१, २, ३ र ४ का उपभोक्ताहरुले बागलुङ बजारमा बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले वितरण गर्दै आएको पानी अभाव भएको र पानी समेत धमिलो आम उपभोक्ताकाे स्वास्थ्यमा प्रत्यक्ष रूपमा असर पर्ने खालको भएको भन्दै जिल्ला प्रशासन कार्यालय र उपभोक्ता संस्थालाई ध्यानाकर्षण गराएका हुन् ।

उनीहरुले आफुहरुको धारामा हिलो, लेदो र माटो मिसिएको पानी आएको भन्दै सफा पानी उपलब्ध गराउन माग गरेका छन् । उनीहरुले ध्यानाकर्षण–पत्रमा प्रदुषित पानीले मानिसको स्वास्थ्यमा गम्भीर समस्या निम्ताएको उल्लेख गरेका छन् ।

उपभोक्ता प्रकाश जिसीले प्रदुषित पानीका कारण पेट र छाला सम्बन्धी रोग लागेको बताउँदै रोग नियन्त्रणको लागि पहलकदमी गर्न समेत अनुरोध गरे ।

ध्यानाकर्षण–पत्र बारे उपभोक्ता डिल्ली गौतमले स्वच्छ र सफा पिउने पानी प्राप्त गर्ने उपभोक्ताको अधिकार कुन्ठित भएको बताए । उनले उपभोक्तालाई सफा पानी उपलब्ध गराउन पहल गर्न बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल समक्ष ज्ञापनपत्र पेसगर्देै अनुरोध गरेका हुन ।

उपभोक्ताहरुले संस्थाको अधिवेशन र साधारण सभा गर्न समेत माग गरेका थिए । बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यकाल अघिल्लो बर्ष सकिए पनि अधिवेशन नगरिएको उनीहरुको भनाई छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी ढकालले यस विषयमा खानेपानी वितरण गर्ने संस्थालाई तत्काल पत्राचार गरि छलफल गराउने बताएका छन् ।

बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले उपभोक्ताहरुको माग जायज रहेको उल्लेख गर्दै सफा पानी उपलब्ध गराउन प्रयत्न गरिरहेको बताए ।